रामनवमी पर्व देशभर श्रद्धा–भक्तिपूर्वक मनाइँदै

रामनवमी पर्व देशभर श्रद्धा–भक्तिपूर्वक मनाइँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। चैत्र शुक्ल नवमीका अवसरमा मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा भक्तिपूर्वक भगवान् श्रीरामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म पुनर्वसु नक्षत्रमा कर्कट लग्नसहित विशेष ग्रहयोगमा भएको उल्लेख छ। शास्त्रअनुसार उहाँको कुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ रहने दुर्लभ योग रहेको मानिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्वले मर्यादा, अनुशासन र आदर्श शासनको प्रतीक ‘रामराज्य’ को स्मरण गराउँछ। यस अवसरमा भगवान् रामको जीवनबाट सत्य, धर्म र कर्तव्यपालनको सन्देश ग्रहण गर्नुपर्ने धार्मिक विश्वास रहेको छ।

धार्मिक ग्रन्थहरूमा चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीका दिन रामचन्द्रको आराधना, जप, ध्यान र व्रत गर्नाले मनोकामना पूरा हुने उल्लेख छ। रामनवमीलाई असत्यमाथि सत्यको विजयका रूपमा पनि लिइन्छ।

यस अवसरमा देशका विभिन्न राम मन्दिरहरूमा विशेष पूजापाठ, भजनकीर्तन र अनुष्ठान भइरहेका छन्। जनकपुरस्थित रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट आएका श्रद्धालुको ठूलो भीड लागेको छ।

परम्पराअनुसार पवित्र नदी, ताल तथा कुण्डमा स्नान गरी व्रत बस्ने, रामायण वाचन गर्ने र रातभर भजनकीर्तन गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार यस दिन व्रत र पूजा गर्नाले पाप नाश भई पुण्य प्राप्त हुने तथा मनोकामना पूरा हुने मानिन्छ।

रामनवमी पर्वलाई वैदिक परम्परामा वासन्तीय नवरात्रको महत्वपूर्ण दिनका रूपमा पनि लिइन्छ, जसलाई जाग्रत दसैँका रूपमा विशेष महत्व दिइन्छ।

Logo