चितवन। सरोकारवालाहरूले प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि यसको मूल विचारलाई गाउँ–गाउँसम्म पु-याउन आवश्यक रहेको बताएका छन्। प्रजातान्त्रिक विचार समाज चितवनको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको मर्म र यसको व्यवहारिक अर्थ जनस्तरसम्म स्पष्ट पार्नुपर्नेमा जोड दिए।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले जनताले प्राप्त गरेका अधिकारको संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि जनचेतना विस्तार गर्नुपर्ने बताए। उनले राज्य कहिलेकाहीँ निरंकुश हुन सक्ने भन्दै त्यसप्रति नागरिक सचेत हुनुपर्ने धारणा राखे। पूर्वअध्यक्ष केदारनरसिंह केसीले लोकतन्त्रको अनुभूति व्यवहारमै देखिनुपर्ने भन्दै यसको अर्थ जनतामाझ सरल रूपमा बुझाउनुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, शिक्षासेवी तथा क्याम्पस पूर्वप्रमुख दयाराम पौडेल र नेपाल शिक्षक संघ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठालगायतले लोकतन्त्र सुदृढ बनाउन शिक्षित वर्ग र नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको बताए। कार्यक्रम समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। सचिव विकास पौडेलले संगठनात्मक र कोषाध्यक्ष सुनिता सडौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।





























प्रतिक्रिया