एक वर्षमा देशभर ७ हजार ५ सय बढी विपद्का घटना

एक वर्षमा देशभर ७ हजार ५ सय बढी विपद्का घटना

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा देशभर ७ हजार ५ सय ४७ विपद्का घटना दर्ता भएका छन्।

यी घटनाबाट १३ हजार ५ सय ४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिमपहिरो लगायतका विपद्का कारण ठूलो जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै घटना आगलागीका रहेका छन्। एक वर्षको अवधिमा मात्रै ३ हजार ६ सय ५२ वटा आगलागीका घटना भएका छन्, जसमा १०४ जनाको मृत्यु भएको छ। आगलागीमा ५६३ जना घाइते भएका छन् भने ४ हजार १८२ परिवार प्रभावित भएका छन्।

त्यसैगरी बाढीका ३२८ घटनामा ३९ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता र १४ जना घाइते भएका छन्। पहिरोका ६२१ घटनामा ७६ जनाको ज्यान गएको छ।

भारी वर्षाका ४४६ घटनामा ७ जनाको मृत्यु र २० जना घाइते भएका छन्। त्यस्तै चट्याङका ४१९ घटनामा ४८ जनाको ज्यान गएको र ३१२ जना घाइते भएका छन्।

हावाहुरीका ४७७, वन डढेलोका ३२४, जनावर आक्रमणका ५०९ तथा लेक लाग्ने १३१ वटा घटनाहरू समेत दर्ता भएका छन्।

प्राधिकरणका अनुसार गत वैशाख १ देखि चैत २४ सम्मको अवधिमा मात्रै विपद्जन्य घटनामा ४९० जनाको मृत्यु, ३८ जना बेपत्ता र १ हजार ९६५ जना घाइते भएका छन्।

Logo