अंश विवादको पृष्ठभूमिमा पोखरामा एकल महिलाको विभत्स हत्या,भाञ्जा पक्राउ

अंश विवादको पृष्ठभूमिमा पोखरामा एकल महिलाको विभत्स हत्या,भाञ्जा पक्राउ

केन्द्रबिन्दु
81
Shares

पोखरा। पोखरामा एकल महिला सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले उनका भाञ्जालाई पक्राउ गरेको छ । पारिवारिक कलह र अंशसम्बन्धी विवादका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

चैत २५ गते साँझ पृथ्वीचोकस्थित आफ्नो जुत्ता पसल बन्द गरेर घर फर्किने क्रममा शिवालय चोक हुँदै सभागृह चोकतर्फ जाँदै गरेकी सिर्जनामाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि उनी सडकमै ढलेकी थिइन् र घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि फरार भएका व्यक्तिको खोजीमा जुटेको प्रहरीले अनुसन्धानका क्रममा मृतककै भाञ्जा संलग्न रहेको पुष्टि गर्दै उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी यसअघि पनि लागुऔषध, अभद्र व्यवहार र चोरीसम्बन्धी घटनामा संलग्न रहिसकेका थिए ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार घटनाअघि नै मृतकको निगरानी गरिएको र मौका छोपेर आक्रमण गरिएको देखिएको छ । घटनामा प्रयोग गरिएको मोटरसाइकलका चालक फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सिर्जना एकल महिला थिइन् र श्रीमानको मृत्यु भएपछि परिवारभित्र अंशसम्बन्धी विवाद चलिरहेको थियो । सोही विवादकै कारण पारिवारिक सम्बन्धमा तनाव बढ्दै गएको र त्यसैको परिणामस्वरूप घटना घटेको प्रारम्भिक आकलन गरिएको छ ।

प्रहरीले घटनामा अन्य परिवार सदस्यको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

Logo