काठमाडौं। पर्वत जिल्लाको मोदी गाउँपालिका–७, राम्जा देउराली खोरखोरे घर भई हाल पोखरा–५, मालेपाटन बसोबास गर्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल के.सी.माथि धारिलो हतियार प्रयोग गरी गरिएको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजानिक गरेको छ ।
सार्वजनिक गरिएकामध्ये मुख्य आरोपी २७ वर्षीय शिशिर केसी रहेका छन्, जो मृतकका आफ्नै भाञ्जा हुन् । उनीसँगै सहयोगीका रूपमा स्कुटर चालक पोखरा–१७ बस्ने उनका साथी कुशल परियार छन् ।
प्रहरीका अनुसार चैत २५ गते राति करिब ७ बजे पृथ्वीचोकस्थित शिवालय चोक नजिकै घर फर्किँदै गरेकी पोखरा–५ मालेपाटनकी सिर्जना केसीमाथि खुँडा प्रहार गरिएको थियो । गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापछि फरार भएका दुवैलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पारिवारिक कलह र अंशसम्बन्धी विवादका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
चैत २५ गते साँझ पृथ्वीचोकस्थित आफ्नो जुत्ता पसल बन्द गरेर घर फर्किने क्रममा शिवालय चोक हुँदै सभागृह चोकतर्फ जाँदै गरेकी सिर्जनामाथि खुकुरी प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उनी सडकमै ढलेकी थिइन् र घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापछि फरार भएका व्यक्तिको खोजीमा जुटेको प्रहरीले अनुसन्धानका क्रममा मृतककै भाञ्जा संलग्न रहेको पुष्टि गर्दै उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी यसअघि पनि लागुऔषध, अभद्र व्यवहार र चोरीसम्बन्धी घटनामा संलग्न रहिसकेका थिए ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार घटनाअघि नै मृतकको निगरानी गरिएको र मौका छोपेर आक्रमण गरिएको देखिएको छ । घटनामा प्रयोग गरिएको मोटरसाइकलका चालक फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
सिर्जना एकल महिला थिइन् र श्रीमानको मृत्यु भएपछि परिवारभित्र अंशसम्बन्धी विवाद चलिरहेको थियो । सोही विवादकै कारण पारिवारिक सम्बन्धमा तनाव बढ्दै गएको र त्यसैको परिणामस्वरूप घटना घटेको प्रारम्भिक आकलन गरिएको छ ।
प्रहरीले घटनामा अन्य परिवार सदस्यको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।





























प्रतिक्रिया