एक वर्षमा ७६ सय ४८ विपद्को घटनामा परी गयो १०५ को ज्यान, आगलागी बन्यो सबैभन्दा ठूलो संकट

एक वर्षमा ७६ सय ४८ विपद्को घटनामा परी गयो १०५ को ज्यान, आगलागी बन्यो सबैभन्दा ठूलो संकट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले एक वर्षको अवधिमा देशभर कुल ७६ सय ४८ विपद् घटना भएको देखाएको छ । यसमध्ये सबैभन्दा बढी आगलागीका घटना रहेका छन् ।

प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि चैत २७ गतेसम्म ३७ सय २० वटा आगलागीका घटना भएका छन् । यी घटनामा परेर १०५ जनाको ज्यान गएको छ भने ५७१ जना घाइते भएका छन् । यसबाट ४२६० परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

त्यसैगरी ३२८ वटा डढेलोका घटना भएका छन् । डढेलोमा परेर २ जनाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् र ५८ परिवार प्रभावित भएका छन् । प्राधिकरणले ठूलो जनधनको क्षति हुनुमा मुख्य जिम्मेवार भनेको सावधानी र जनचेतनाको अभाव तथा वनजंगल र सुकेका सामग्रीमा आगो लगाउने प्रवृत्ति भएको स्पष्ट उल्लेख गरेको छ । त्यस्तै सुक्खा मौसममा आगलागीका घटना अझ बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न विशेष सावधानी अपनाउनुपर्ने प्राधिकरणको जोड छ ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म देशभर १९ वटा विपद् घटना भएका छन् । जसमध्ये १६ वटा आगलागी मात्र रहेका छन् । यो तथ्यांकले सुक्खा मौसममा आगलागीको जोखिम कति तीव्र छ भन्ने स्पष्ट संकेत दिएको छ ।

आगलागीबाट जोगिन ज्वलनशील पदार्थलाई सुरक्षित स्थानमा राख्ने, विशेष सचेतना अभियान सञ्चालन गर्ने, आगो नियन्त्रणका लागि प्रभावकारी उपायहरू अपनाउने र स्थानीय तहदेखि केन्द्रीय निकायसम्म सक्रिय भूमिका खेल्न प्राधिकरणले बारम्बार अनुरोध गर्दै आएको छ । त्यसैगरी वन तथा वातावरण मन्त्रालयले पनि आफ्ना सम्पूर्ण निकाय परिचालन गरी डढेलो र आगलागी नियन्त्रणमा जोड दिएको छ ।

Logo