काठमाडौं । काठमाडौंको बागमती र त्यसका सहायक नदी किनारका बासिन्दाहरू जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित र व्यवस्थित भविष्यको खोजीमा सरकारको कदमलाई साथ दिन थालेका छन्।
विशेष गरी बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर-जग्गा र पैतृक सम्पत्ति नभएका न्यून आयस्रोत भएका नागरिकहरू यतिबेला दशरथ रंगशाला पुगेर आफ्नो विवरण टिपाउन व्यस्त देखिन्छन्।
नदी किनारको अव्यवस्थित बसोबासलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने प्रक्रियाका लागि अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा दशरथ रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराइसकेका छन्। रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिका निभाउँदै विवरण संकलन गरिरहेको छ।
विवरण संकलनका साथै त्यहाँ आइपुगेका नागरिकहरूको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श समेत प्रदान गरिँदैछ, जसले उनीहरूमा रहेको त्रास कम गरी आत्मविश्वास जगाउन मद्दत पुगेको छ। कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजाको व्यवस्था गरी व्यवस्थित तरिकाले ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको छ।
विवरण संकलनपछि उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी पूरा भएको छ।































प्रतिक्रिया