चितवन राष्ट्रिय निकुञ्जमा साउन यता शिकारीले मारे चार गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा साउन यता शिकारीले मारे चार गैँडा

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा साउन यता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिना अघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको थियो । टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र सोही क्षेत्रमा माउ र बच्चा गलेका अवस्थामा फेला परेको छ ।

दुवैको खाग तस्करले लगेको बरालले बताए। एउटै समयमा तस्करको आक्रमणको निशानामा तीन वटै गैँडा परेको अनुमान छ । माउ र बच्चाको खाग लगेको भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ । यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ । बरालले झण्डै छ महिना अघि तस्करले मारेर खाग लगेको हुन सक्ने बताए । सो गैँडा गत आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीको अनुमान छ ।

निकुञ्जमा शिकारीले चार वर्ष यता गैँडा मार्न सकेका थिएनन् । विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारे यता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए ।

निकुञ्जमा शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिएका छन् । बरालले भने, “हामीले दक्ष जनशक्ति माग गरेका छौँ ।” सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । एकाएक शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ ।

प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिए। निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उनको भनाइ छ । निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ ।

सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ गैँडा छन् । यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६०५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन् । सो वर्ष मरेका ४८ गैँडा मध्ये ३७ वटा शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।रासस

Skip This
Skip This
Logo