माजिद अन्सारीको रिहाइको माग गर्ने २६ जना पक्राउ

माजिद अन्सारीको रिहाइको माग गर्ने २६ जना पक्राउ

केन्द्रबिन्दु
15
Shares

विराटनगर । जेन्जी अभियान्ता माजिद अन्सारीसहितलाई धरपकड गरेको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कीर्तिपुरस्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टरबाट जेन्जी अभियान्तालाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन गर्न खोज्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको विरोधमा शनिबार राति साढे ९ बजे जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेटअगाडि युवा धर्ना बस्न खोजेका थिए । सो क्रममा २६ युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले रातिको समयमा सडकमै धर्नामा बसेका प्रदर्शनकारीलाई पटकपटक सम्झाइबुझाइ गर्दा पनि अटेर गर्दै प्रहरीका कामकारबाहीमै अवरोध पुर्‍याउनाका साथै सवारीसाधन आउजाउ नै ठप्प पारेपछि नियन्त्रणमा लिइएको दाबी गरे । उनीहरू सबैलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

शुक्रबार रातिको वर्षाले कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा पर्दा त्यहाँ राखिएका सुकुम्बासीको बिचल्ली भएपछि सहयोग गर्न पुगेका तीन जना जेन्जी युवालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा प्रहरीले कुटपिट गर्दा जेन्जी अभियान्ता माजिद अन्सारी घाइते भएका छन् ।

Logo