काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग सुपर ओभरमा पराजित भएसँगै नेपाल एसीसी महिला यू-१९ प्रिमियर कपको फाइनलमा पुग्न असफल भएको छ।
रोमाञ्चक बनेको खेलको निर्धारित २० ओभरमा दुवै टोलीले समान १०० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले ५ बलमा मात्र ६ रन बनाउँदै २ विकेट गुमायो। ७ रनको सामान्य लक्ष्य पछ्याएको युएईले कुनै पनि विकेट नगुमाई मात्र ३ बलमा आवश्यक रन बटुल्दै रोमाञ्चक जित हात पार्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईलाई नेपाली बलरहरूले दबाबमा राखेका थिए। नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण युएई १९.५ ओभरमा १०० रनमै समेटिएको थियो।
युएईका लागि मेहल प्रणव कुलकर्णीले सर्वाधिक ३० रन र लाभान्या केनीले २५ रनको योगदान दिए। नेपालका लागि बलियो बलिङ प्रदर्शन गर्दै रिया शर्मा र अनु कडायतले समान ३-३ विकेट लिए भने तृष्णा विश्वकर्माले २ र मनिषा उपाध्यायले १ विकेट हात पारे।
१०१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुआत भने निकै निराशाजनक रह्यो। प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरिरहेकी सावित्री धामी मात्र ८ रनमा आउट भइन् भने कप्तान सोनी पाख्रिन मात्र ३ रनमा पेभिलियन फर्किइन्। एक समय नेपाल १२.१ ओभरमा ४१ रन बनाउँदा ४ विकेट गुमाएर निकै दबाबमा थियो।
तर, पुछारकी ब्याटर अनु कडायतले १५ बलमा आक्रामक २० रन (२ चौका र १ छक्का) बनाउँदै नेपाललाई खेलमा फर्काइन्। त्यस्तै विकेटकिपर एलिसा यादवले १४ बलमा अविजित १८ रनको महत्वपूर्ण इनिङ खेलिन्।
खेलको अन्तिम बलमा जितका लागि नेपाललाई २ रन आवश्यक रहेकोमा मात्र १ रन बनेपछि खेल टाइ भएको थियो।
युएईका तर्फबाट बलिङमा उत्कृष्ट प्रदर्शन गरेकी वैष्णवे महेश ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले ४ ओभरमा मात्र १२ रन खर्चेर ३ विकेट लिइन्।
यो हारसँगै प्रतियोगितामा नेपालको अपराजित यात्रा टुङ्गिएको छ । यद्यपि, सेमिफाइनलमा पुगेसँगै नेपाली टोलीले आगामी एसीसी महिला यू-१९ एसिया कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।































