काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच सहमति जुटेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको लामो वार्ता पश्चात् दुवै पक्षबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
मृतक नेपालीको दुःखद निधनप्रति नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति भएको छ।
उक्त समितिले गठन भएको सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेश गर्नुपर्नेछ। यस्तै, घटनाको दिन कार्यक्षेत्रको अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरगरीय प्रहरी बलका कर्मचारीहरूलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई लेखी पठाउने निर्णय भएको छ।
वार्तामा पीडित परिवारलाई राहत र क्षतिपूर्तिको सम्बन्धमा पनि महत्त्वपूर्ण निर्णयहरू भएका छन्। आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकका आश्रित परिवारलाई उचित राहत रकम उपलब्ध गराइने र मृतककी श्रीमतीलाई उनको योग्यता तथा क्षमताका आधारमा महानगरमा रोजगारी सुनिश्चित गरिने सहमति पत्रमा उल्लेख छ।
यसका साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक सम्पूर्ण खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने प्रतिवद्धता जनाएको छ।
सहमति अनुसार मृतकका एकाघरका परिवारजनको काठमाडौँ आउँदा-जाँदाको यातायात खर्च र काजक्रिया अवधिभरको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्नेछ भने परिवारका सदस्यहरूको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मिलाउनेछ। यस्तै, प्रचलित कानुन र छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा आवश्यक निर्णय प्रक्रिया अगाडि बढाइनेछ।
सहमति पश्चात् पीडित परिवार र आफन्तजनले शव बुझिलिने तथा पोस्टमार्टम लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्दै सद्गत गर्ने जिम्मा लिएका छन्।
सहमतिपत्रमा पहिलो पक्षको तर्फबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल र महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा दोस्रो पक्षबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली सहित वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन्।






























