काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया रहेका छन्। मन्त्रिपरिषद्ले समितिलाई गठन भएको मितिबाट सात दिनभित्र घटनाबारे विस्तृत छानबिन गरी प्रतिवेदन सरकारसमक्ष बुझाउन निर्देशन दिएको छ।
गणेश नेपालीको २६ असारमा काठमाडौंस्थित वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यसपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच नौ बुँदे सहमति भएको थियो।


















