सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युतबाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए ।
विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुनै झन्झट थिएन । उनले नियमित विद्युत् प्रयोग गरेपनि तिर्नु पर्ने बिल घरमा नआउँदा उनलाई यसप्रति कुनै चिन्ता थिएन । चौधरी जस्तै रामधुनी गाउँपालिका–८ निवासी राजकुमार उराँव पनि आफ्ना खेतमा सिँचाइका लागि पानी तान्ने पम्पबाट सिँचाइ गरिरहेका थिए । खेतमा जति सिँचाइ गरे पनि विद्युतको महशुल तिर्न उनलाई समस्या थिएन ।
वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत् उपयोग गर्ने उनी जस्तै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी विजय यादव, कोशी गाउँपालिका–६ निवासी चन्दन यादव, इनरुवा नगरपालिका–८ निवासी रामचन्द्र मण्डलसहित ३५ जना उपभोक्ता एकैपटक विद्युत् चोरीको आरोपमा पक्राउ परे ।
सूचनाका आधारमा विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणले बनाएको योजनामा नेपाल प्रहरी र सशस्त्र तथा विद्युत कार्यालयका कर्मचारीसहितको टोलीले एकासाथ ३५ जनालाई पक्राउ गरी कारवाही चलायो । जनही ११ हजार ८३० जरिवाना तिराई गरिएको कारवाहीबाट प्राधिकरणले तीन लाख ७८ हजार २४० असुलउपर गरेको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिए ।
उनले सुनसरीमा विद्युत् चोरी भइरहेको अन्य ठाउँबाट पनि सूचना आइरहेको छ, यसलाई पूर्णरुपमा नियन्त्रण गर्न अभियान चलाएका छौँ, यस अभियानलाई सफल बनाउन विद्युत् चोरी गर्नेका छरछिमेकले पनि सहयोग गर्नुपर्ने उनले बताए । गैरकानूनी तरिकाले विद्युत् चोरी गर्दा मानिसको ज्यान पनि जान सक्ने भएकाले यसबाट बच्न र बचाउन अभियान सञ्चालन गर्नु परेको प्रमुख साहको भनाइ छ ।
आफ्ना सेवा क्षेत्रमा विद्युत् चोरी हुन नदिन निकै सतर्कता अपनाए पनि रातिको समयमा हुने चोरीलाई नियन्त्रण गर्न केही समस्या भएको छ भन्दै प्रमुख साहले विद्युत् बाल्ने र महशुल भुक्तानी नगर्ने उपभोक्ताको पनि सूची तयार गरेर विद्युत् विच्छेद गर्ने योजना बनाई काम गरिरहेको बताए । उनले यसकार्य अन्तर्गत विद्युत् महशुल नतिर्ने १२२ को लाइन काटिएको बताए। लाइन काटिएका ग्राहकबाट कूल रु ३३ लाख ६६ हजार असुलउपर गरेको बताइएको छ । हाल यो शाखा अन्तर्गत ४५ हजारभन्दा बढी उपभोक्ता छन् ।





























प्रतिक्रिया