‘कोरोना कहरपछि पत्रकारिता क्षेत्रमा पारिश्रमिकको कुरा मुख्य चुनौति’

‘कोरोना कहरपछि पत्रकारिता क्षेत्रमा पारिश्रमिकको कुरा मुख्य चुनौति’

केन्द्रबिन्दु
0
Shares

पत्रकारितामा पारिश्रमिकको कुरा मुख्य चुनौतिको रुपमा आएको पत्रकारहरुले बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागि काठमाडौंमा भेला भएका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतिहरु रहेपनि पत्रकारहरुले पाउने पारिश्रमिक नै प्रमुख चुनौतिको रुपमा देखा परेको बताएका हुन् ।  

पत्रकारहरुले सञ्चार माध्यमबाट तोकिएको पारिश्रमिक नपाउने तथा पाए पनि ढिलो गरी पाउने भएकाले पत्रकारहरु समस्यामा पर्ने गरेको बताएका छन् । सुर्खेतबाट गोरखापत्र सम्वाददाता मुना हमालले मोफसलका मिडियामा पारिश्रमिककै अप्ठ्यारो रहेको बताइन् । न्यूनतम पारिश्रमिक नपाउने समस्यासँगै मिडियाले तोकेकै पारिश्रमिक पनि पाउने अवस्था नरहेको उनको भनाइ छ ।  

मिडिया हाउस मोटाउँदै जाने तर श्रमजिवी पत्रकारले चाहिं पारिश्रमिक नपाउने अवस्था रहेको उनको भनाइ छ । महिला पत्रकारमाथि झनै पारिश्रमिक र जिम्मेवारीमा नै भेदभावपूर्ण व्यवहार हुने गरेको भन्दै उनले महिला पत्रकारहरु पत्रकारितामा टिकिरहन समस्या रहेको बताइन्।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीे कोभिड १९ पछि पत्रकारिताको अवस्था लथालिङ्ग भएको बताउँछन् । स्थानीयस्तरमा धेरै सञ्चारमाध्यमहरु खुलेका भएपनि स्थानीय सरकार पत्रकारमैत्री नुहुँदा चुनौतीहरु उत्पन्न हुने गरेको उनको भनाइ छ । पत्रकारहरुको शान्ति सुरक्षाको समस्या पनि भयावह रुपमा बढेको उनले बताए।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले कोभिड–१९ को बाहानामा पत्रकारहरु जागिरबाट निस्किने तथा पारिश्रमिक नपाउने समस्या उत्पन्न भएको बताए । ठूला मिडिया हाउसहरु केवल व्यवसाय उन्मुख मात्रै भएको उनको भनाइ छ । साना तथा स्वरोजगारमुखी मिडिया जीवन मरणको संकटमा रहेको अध्यक्ष बिडारीले बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने खालका कानूनहरु नआउन् भन्ने तर्फ ध्यान दिनुपर्ने बताए । श्रमको मूल्य पाउने वातावरण बनाउनु पर्ने अर्को चुनौती रहेको उनको भनाइ छ । कोभिड–१९ बाट थलिएका स्वरोजगारमुलक मिडियाको निरन्तरताको प्रबन्ध गर्नु पर्ने अवस्था रहेको दाहालले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रेम बिश्वकर्माले पत्रकारहरुले स्वतन्त्ररुपले लेख्न, बोल्न पाउने वातावरण बन्न नसकेको बताए । त्यस्तै पारिश्रमिक नपाउने, परिचयपत्र प्रदान तथा नविकरणका पनि समस्या रहेको उनको भनाइ छ । विभिन्न राजनीतिक पार्टी तथा सरकारबाट धम्की आउने चुनौती रहेको उनले बताए।

विश्वकर्माले स्वतन्त्र पत्रकारिताको निम्ति राज्य पनि जवाफदेहि हुनु पर्ने बताए । राज्यले भयरहित र स्वतन्त्र तरिकाले काम गर्ने वातावरण दिनु पर्ने उनको भनाइ छ । मिडिया हाउसले पनि पत्रकारहरु आफूहरुको खम्बा ठानेर सम्मान गर्नुपर्ने उनले बताए ।  

Logo