शङ्खमूल त्रिवेणीधामको संरक्षणमा जुटे स्थानीय

शङ्खमूल त्रिवेणीधामको संरक्षणमा जुटे स्थानीय

केन्द्रबिन्दु
0
Shares

बागमती, रुद्रमती र मनोहरा नदीको सङ्गमस्थल शङ्खमूल त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा सुरु भएको छ ।

चन्द्रमासअनुसार हरेक महिनाको पूर्णिमाका दिन आरती गर्ने र अरु दिन त्रिवेणीधाम क्षेत्रका तीनवटै नदीलाई सफाइ गर्ने अभियान सुरु गरिएको शङ्खमूल त्रिवेणीधाम आरती सेवा समूहले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता एवं सो क्षेत्रबाट प्रतिनिधिसभाका प्रतिनिधि सांसद प्रकाशमान सिंहले नदी सभ्यता र धर्म, संस्कृतिको संरक्षणमा समुदाय लाग्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिका–३१ मा पर्ने शङ्खमूल त्रिवेणीधाम धार्मिक एवं पौराणिक हिसाबमा महत्वपूर्ण तीर्थस्थल भए पनि ओझेलमा परेकाले समूहले यसको प्रचारप्रसार एवं महत्व समुदायसम्म लैजान काम गर्ने अध्यक्ष मदनगोपाल धुँजु श्रेष्ठले जानकारी दिए । 

त्रिवेणीधाम संरक्षणका लागि आर्ट अफ लिभिङ, हनुमान आरती मण्डल, ओम शान्तिलगायत संस्थासँग समेत सहकार्य गरेर काम गरिएको समूहले जनाएको छ । साप्ताहिकरूपमा नियमित सफाइ र मासिकरूपमा शङ्खमूल त्रिवेणीधाममा नियमित आरती गरेर महत्वपूर्ण धार्मिकस्थलको संरक्षण गर्न लागिएको समूहका सहसंयोजक प्रेमबहादुर शाक्यले बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र गणेश दुलाल, काठमाडौँ महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी र वडा नं ३१ का अध्यक्ष नारायण भण्डारीलगायतको पनि सभागिता थियो । 

Skip This
Skip This
Logo