धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गरेका छन् ।

खिचापोखरी न्यूरोड व्यापार संघको ७ औं महाधिवेशन तथा १३ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्वहरुले विभिन्न बाहानामा धरहरा निर्माण काममा अवरोध पुर्याउने गरेको भन्दै त्यस्तो काम कहीँ कतैबाट पनि हुन नहुने बताएका हुन् । धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायी दुवैलाई फाइदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताए। धरहरा बनाउने क्रममा सबै भन्दा बढी गाली आफूले खाएको भन्दै उनले महानगर एकाध समूहको विरोध र नाराबाजी नअल्झेर योजनावद्ध ढंगले अघि बढ्ने स्पष्ट पारे।

उनले भने, “धरहरा बनाउन दिनुहोस्। विभिन्न बाहानामा कहिले सम्पदाको नाममा, कहिले अभियन्ताको नाममा यहाँका बासिन्दाहरु होइन, कहाँ कहाँबाट आउँछन् । अवरोध गर्छन् । ४, ५ जना आउँछन् । ब्यानर राख्छन् । जुलुश गर्छन् । जिन्दावाद, मुर्दावाद भनेर जान्छन् । तर हामीले त्यो कामलाई समयमा सम्पन्न गर्नु पर्छ र हामीले पनि सोचेका थियौं त्यो काम सम्पन्न भयो भने यो क्षेत्रलाई व्यवसायीकरुपले उकास्छ । घरधनी र व्यवसायी दुवैलाई फाइदा हुन्छ । दुवैको दृष्टिकोण सकारात्मक हुनु पर्छ । त्यो बनाउँदा सबै भन्दा बढी गाली खाने मै हुँ । अहिले पनि टुँडिखेल बेचेर खायो भन्छन् । तर महानगर योजनावद्ध ढंगले अघि बढेको छ। अघि बढ्छ ।”

मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभई सबैले आ आफ्नै स्थानबाट जिम्मेवार रहेर दायित्वबोध गर्न पनि आग्रह गरे । कोभिड १९ को समयमा  महानगरले उपत्यकामा रहेका कोही पनि उपत्यका बाहिर नजान आग्रह गरेको र सबैको व्यवस्थापन गर्छु भन्दा भन्दै बाहिरिने र भित्रिने काम भएको स्मरण गर्दै उनले जिम्मेवारी लिन खोज्दा खोज्दै पनि विभिन्न किसिमका टिप्पणी भएको गुनासो गरे ।

उनले कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु भइसकेकाले एकीकृतरुपमा अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

व्यवसायीक वातावरण निर्माण तथा व्यवसायको सुरक्षाका लागि महानगर कटिबद्ध रहेको भन्दै उनले सुझाव तथा समस्या भए स्पष्ट राख्न पनि आग्रह गरे। उनले संघको नेतृत्व चयन गर्ने क्रममा हुने निर्वाचन पछिको परिणामलाई लिएर मनमुटाव गर्ने, असहयोग गर्ने जस्ता मुल राजनीतिमा देखिए जस्तो दृष्य संघमा नदेखियोस् भन्ने तर्फ पदाधिकारीको ध्यानाकर्षण गराए।

मेयर शाक्यले व्यवसायीको हकहित तथा व्यवसायीक वातावरण निर्माणका लागि महानगरपालिका सधैं लागिपरिरहने प्रतिवद्धता पनि जनाए।

Skip This
Skip This
Logo