आकस्मिक सेवासहित गैँडाकोट नगर अस्पताल सञ्चालनमा

आकस्मिक सेवासहित गैँडाकोट नगर अस्पताल सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान सुरुआत गरेको छ ।  

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई श्ययाको आकस्मिक कक्षसहित सेवा सुरु गरेको हो। नगरपालिकाका जनस्वास्थ्य प्रमुख झलकराज पौडेलले अस्पतालको फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला सेवा चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए।

हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण गर्ने सरकारी नीतिअनुरुप नगर अस्पतालमा दुई आकस्मिक श्यया थप गर्दै १५ श्ययाबाट बिरामीलाई सेवा प्रदान गरिएको उनले बताए। अस्पतालले सेवा विस्तार गरेसँगै दुई चिकित्सक र २२ स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिने छन्। नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट नगर अस्पतालबाट जनस्वास्थ्य सेवाअन्तर्गत बालरोग, पोषण, महामारी नियन्त्रण व्यवस्थापन, खोपका कार्यक्रम, गाउँघर क्लिनिकलगायतका स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए।

दुर्घटनाका घाइते बढी लाभान्वित हुनेछन् । “पूर्वपश्चिम राजमार्गको यस क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन्”, उनले भने, “हामीले यहाँ प्राथमिक उपचार दिएर थप उपचारका लागि भरतपुर पठाउन सक्ने अवस्थामा पुगेका छौँ। यसले दुर्घटनाका घाइतेको जीवनरक्षाका लागि थप मद्दत पुग्छ।” 

नगर अस्पताललाई अझ व्यवस्थित बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको छ। यस क्षेत्रमा राजमार्ग विस्तारको काम भइरहेकाले नगर अस्पतालबाट धेरैलाई लाभ पुग्ने उनको भनाइ छ ।  

महिलालाई सीपमूलक तालिम

महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको देवचुली नगरपालिकामा सिलाइकटाइ तालिम प्रदान गरिएको छ। देवचुली–५ को आयोजना तथा भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो। 

देवचुली–५ का वडाध्यक्ष शिवलाल सापकोटाले महिलाको आयआर्जन वृद्धि गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए। पैंतालीस दिन सञ्चालन गरिएको तालिमका सहभागी महिलालाई विभिन्न १६ प्रकारका सिलाइकटाइका सीप सिकाइएको छ। 

वडाध्यक्ष सापकोटाले तालिममा सहभागी महिलालाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार हुन आग्रह गरे। तालिम समापनका अवसरमा प्रबन्धक विवेक अधिकारीले तालिममा सहभागी महिलाले अनुशासित हुँदै ज्ञान आर्जनका लागि मेहनत गरेको बताए।रासस

Logo