चैत र वैशाखभर गोरखा दरबार सङ्ग्रहालय सबै दिन खुला हुने

चैत र वैशाखभर गोरखा दरबार सङ्ग्रहालय सबै दिन खुला हुने

केन्द्रबिन्दु
0
Shares

आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङ्ग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुला हुने भएको छ । 

सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको दिन पनि खुल्ला गर्ने निर्णय गरिएको सङ्ग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए। 
    
“यसअघि हरेक हप्ताको मङ्गलबार र सार्वजनिक बिदाको दिनमा सङ्ग्रहालय बन्द हुँदै आएको थियो”, उनले भने, “अब चैत र वैशाख महिनामा भने सबै दिन सङ्ग्रहालय खुल्ला रहनेछ ।” 
    
सङ्ग्रहालयमा नेपाल एकीकरणका प्रणेता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि  शाहवंशका पालामा लडाइँ गर्दाका हातहतियार छन् । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडा, वर्तन, तस्वीर तथा चित्रकलाका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति सङ्ग्रहालयमा अवलोकन गर्न पाउँछन् । 

पर्यटकले सङग्रहालयभित्र रहेका तेल चित्रकक्ष, वंशावलीकक्ष, जन्मकुण्डलीकक्ष, दिव्योपदेशकक्ष, हातहतियारकक्ष, धार्मिक परम्परागतकक्ष, जनजातिको झाँकीकक्ष, परिचात्मककक्ष, भडाँवर्तनकक्ष, श्रव्यदृश्यकक्ष, चैत्यकक्ष र हस्तलिखित गरी १२  प्रदर्शनीकक्षको अवलोकन गर्न समेत पाउनेछन् । 

विसं २०४३ मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी सङ्ग्रहालयलाई पृथ्वी स्मृति सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा सङ्ग्रहालयका रुपमा विकास गरिएको थियो ।रासस

Logo