कोभिड-१९: खोप कार्यक्रम स्थगन, पहिलो चरणमा खोप लगाएकाहरुले वैशाखमा दोस्रो डोज पाउने

कोभिड-१९: खोप कार्यक्रम स्थगन, पहिलो चरणमा खोप लगाएकाहरुले वैशाखमा दोस्रो डोज पाउने

केन्द्रबिन्दु
0
Shares

सरकारले ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम स्थगन गरेको छ। थप खोप प्राप्त हुनासाथ निरन्तरता दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। हालसम्म नेपालमा खरिद र अनुदान गरी २३ लाख ४८ हजार डोज खोप आएको छ।

दोस्रो चरणको खोप अभियान फागुन २३ गते सुरु गरिएको थियो । यस समयमा ६५ वर्षभन्दा माथिका नागरिकलाई प्राथमिकता दिइएको थियो। यस मध्ये १६ लाखभन्दा बढीले खोप लगाएको मन्त्रालयले जनाएको छ।

यसैबीच कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ । वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप दिइने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिने निर्णय गरेको हो। पहिलो चरणको अभियान माघ १४ देखि फागुन १० गतेसम्म ४ लाखभन्दा बढीले पहिलो डोज खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पहिलो चरणमा लक्षित समूहको झन्डै ८५ प्रतिशतले खोप लगाएका हुन्।

दोस्रो चरण अन्तर्गत फागुन २३ देखि चैत ३ गतेसम्म पहिलो डोज लगाएका नागरिकलाई भने दोस्रो डोज लगाउन सूचनापछि प्रकाशन गरिने भएको छ।

Logo