काभ्रेको नमोबुद्धमा १२१ जनाको मोतियाविन्दु शल्यक्रिया

काभ्रेको नमोबुद्धमा १२१ जनाको मोतियाविन्दु शल्यक्रिया

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा शुक्रबार सम्पन्न भएको आँखा शिविरमा १२१ को मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ। नमोबुद्ध नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरीको संयुक्त सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा दुईदिने शिविरमा नगरपालिकाका नागरिकहरूले सो सेवा लिएका हुन् ।

शल्यक्रिया शिविर सञ्चालन गर्नु अघि नमोबुद्ध नगरपालिकाका विभिन्न सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । सो क्रममा एक हजार २७० जनाको आँखा परीक्षण र उपचार गरिएकोमा १७४ को शल्यक्रिया गर्नुपर्ने देखिएको थियो।

त्यसबेला मोतियाविन्दु पत्ता लागेका बिरामीको दुई दिनसम्म रेयुकाई आँखा अस्पताल बनेपाको भकुण्डेस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो। दुई दिनसम्म सञ्चालन भएको शिविरमा शल्यक्रिया गर्न नभ्याएका बाँकी बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा लगेर निःशुल्क शल्यक्रिया गराउन सक्ने नगरपालिकाले जनाएको छ। आँखाको शल्यक्रिया गर्न बाँकी ५३ लाई सो सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

अस्पतालको भकुण्डेबेँसी सेवा केन्द्रमा पहिलोपटक यतिधेरै बिरामीको एकैपटक मोतियाविन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाका महासचिव हिरामणि शर्माले बताए। उनका अनुसार पहिलो दिन ५२ र दोस्रो दिन ६९ को शल्यक्रिया गरिएको हो। नमोबुद्ध नगरपालिकाले विगतदेखि नै नगरभित्र मोतियाविन्दु न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ। सो अभियानबाट नगरका सयौँ मोतियाविन्दुका बिरामी लाभान्वित भएका छन्।रासस

Skip This
Skip This
Logo