दैलेखको दुल्लु नगरपालिका–३ चाटपाडामा ‘नेपाल वंशज साँस्कृतिक भवन’ निर्माण हुने भएको छ।
यसका लागि स्थानीय समाजसेवी जागेश्वर उपाध्याय नेपालले नेपाल वंशज परिषद्लाई तीन रोपनी जमिन निःशुल्क प्रदान गरेका थिए। परिषद्को हालै सम्पन्न बैठकले सो स्थानमा भवन निर्माण गर्ने निर्णयसमेत गरेको हो। बैठकले वंशजका ऐतिहासिक परिचय झल्किने भवन निर्माणार्थ जमिन प्रदान गर्नुहुने जागेश्वरलाई विशेष धन्यवाद तथा अभार व्यक्तसमेत गरेको छ।
बैठकले प्राप्त जमिनमा छिटोभन्दा छिटो भवन निर्माण शुरुआत गर्ने र यसका लागि दुल्लु नगरपालिकासँग सहकार्य गर्ने निर्णय गरिएको परिषद्का महासचिव समीर नेपालले जानकारी दिए।
बैठकले परिषद्को रिक्त उपाध्यक्षमा नेपाल वंशज परिषद् झापाका अध्यक्ष हरि नेपाल र दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत ज्ञानमणि नेपाललाई चयन गर्नाका साथै वंशजको अद्यावधिक वंशावली विसं २०७८ भित्र प्रकाशन गरिसक्ने निर्णय गरेको छ।
परिषद्का अध्यक्ष अनिलकुमार नेपालका अध्यक्षतामा सम्पन्न सो बैठकमा महासचिव समीर नेपालसहित वरिष्ठ उपाध्यक्षद्वय जनार्दन रामबाबु तथा केन्द्रीय सदस्य ओम, उत्तम, करुणा, विष्णु, कुवेर, कृष्णप्रसाद, पिरुप्रसाद र घर्नेन्द्र नेपाल उपस्थित थिए।रासस





























प्रतिक्रिया