मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र, कसले पाउला २५ औँ महामूर्ख उपाधि ?

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र, कसले पाउला २५ औँ महामूर्ख उपाधि ?

केन्द्रबिन्दु
0
Shares

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ। यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो । जनकपुरधाममा यो परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ।

होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ। मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ। प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवम् उत्तरवैदिककालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ।

जनकपुरधाम पौराणिककालमा मिथिला प्रदेशको राजधानी थियो । निमि, मिथि, शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय राजाहरूद्वारा सुशासित तथा याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी जस्ता विद्वानहरूको योग, तप, ज्ञान र दर्शनले यो क्षेत्र सुसंस्कारित रहेको छ। सो समयमा विचार विमर्श, बैठक र सम्मेलनका माध्यमले चिन्तन, हास–परिहास हुने गरेको थियो।

मिथिलाको संस्कृतिमा धर्मका साथै दर्शनको पनि महत्वपूर्ण स्थान रहिआएको मानिन्छ। दर्शनलाई धर्मसित सम्पृक्त मानिएको छ एवम् यसलाई धर्मको स्वभाविक परिणतिका रूपमा ठानिएको छ। राजा जनकको दरबारमा माया, कर्म, मुक्तिजस्ता विषयको विश्लेषण गरिएको पाइन्छ।

विदुषी विद्युतमा र महामूर्ख कालिदासको वैवाहिक सम्बन्धका दृष्टान्त पनि मिथिलाञ्चलमै रहेको छ। विद्वानहरूबीच शास्त्रका बारेमा चिन्तन, विवाद र समाधानको केन्द्रका रूपमा पनि यो ख्याती पाएको देखिन्छ। सोही भावमूमिमा विद्वानहरूले आफूमा महामूर्खको भाव राख्ने, सभ्यता, संस्कृतिको रक्षा गर्ने, भाषा र कलालाई अभियानका रूपमा लिने, धरातीय अवस्थाको बोध गराउने प्रतीकका रूपमा महामूर्खको उपाधिले निरन्तरता पाएको बताइन्छ। महामूर्ख उपाधिमा सम्मान, अभियान र व्यङ्ग्य समाहित देखिएको छ, मिथिलावासी विद्यापे्रमी रहेका तथा यहाँ विद्वानहरूको कदर गरिने परम्परा रहेको तथ्य राजा जनकका राजसभाबाट ज्ञात हुन्छ।

महामूर्खको उपाधि पाउनेमा साहित्यकार, अभियानी, संस्कृतिकर्मी, समाजसेवी, कलाकर्मी, लेखक र राजनीतिकर्मी रहेका छन्। हुन त सामान्यतया महामूर्खको उपाधिले ग्लानी र हीनताबोध हुनुपर्ने हो तर मिथिलाञ्चल क्षेत्रमा यो उपाधिका लागि निकै प्रतिस्पर्धा हुने गरेको पाइन्छ।

राजनीतिकर्मी बजरङ्गप्रसाद साह जनकपुरधाममा होरी मनाउने सन्दर्भमा यो उपाधि महत्वपूर्ण स्थान रहेको बताउँछन्। महामूर्खको उपाधि र होरी उत्सवलाई बूढापाकाले दिएका निरन्तरताका शृङ्खलाका रूपमा आफूले २०३६ सालमा कानूनविद् गिरिशचन्द्र लाललाई महामूर्खको उपाधि जानकी मन्दिर परिसरमा आयोजित होरी उत्सवमा प्रदान गरेको पनि उनी बताउँछन्।

सोही उत्सवमा विमलेन्द्र निधि, वृषेशचन्द्र लाल, समीर घिमिरे, प्रेमकिशोर साहलगायत अभियानीहरूले तत्कालीन राजालाई व्यङ्ग्य गरी मञ्चबाट महामूर्खको सङ्ज्ञा दिएका कारण सो अभियानपछि गएर शासक वर्गको बक्रदृष्टिको शिकार हुन पुगेको बताइन्छ।

शासक वर्गको बक्रदृष्टि भएपछि विभिन्न युवा क्लबहरूले होरी उत्सवलाई रङ उत्सवका रूपमा मनाउन थालेको देखिन्छ। राजनीतिकर्मी साह आफ्नो पहलमा सुरुमा महावीर चोकमा होरी मनाउने सन्दर्भमा जोगिरा गायन र मटका फोर अभियान पनि सञ्चालन गरेको बताउँछन्।

केही वर्षसम्म महामूर्खको उपाधि प्रदानमा इतिहास मौन देखिए पनि मिथिला नाट्यकला परिषद्ले यसलाई जीवन्तता दिएको पाइन्छ। परिषद्ले २४ वर्षदेखि महामूर्खको उपाधि प्रदान गरिँदै आएको छ। सो परिषद् महामूर्खको उपाधि पाउनेमा ओमकुमार झा, नरेश ठाकुर, हरिबहादुर बिसी, डा राजेन्द्र विमल, रामचन्द्र झा, रामसरोज यादव, सिके लाल, शीतल झा, लालकशिोर साह र लालबाबु राउतलगायत व्यक्ति रहेका छन्।

सामाजिक संस्कृतिको अङ्गका रूपमा विद्वत वर्गदेखि अभियानी, राजनीतिकर्मीलाई निराकार भाव, व्यङ्ग्य र सम्मानमूलक रूपमा सो उपाधि प्रदान गरिँदै आएको हो। चैत १५ गते जानकी मन्दिर परिसरमा हुने होरी उत्सवमा सो उपाधि प्रदान गर्ने जनाइएको छ।

भनिन्छ कि मिथिलाका विद्वान ज्ञानका क्षेत्रमा स्वयम्मा एउटा संस्था हुने गरेका कारण यस पटक महामूर्खको चयन निकै चासोको विषय बनेको छ। चयन समितिका संयोजक श्यामसुन्दर शशि युद्धस्तरमा महामूर्ख र पटमूर्खको खोजी जारी रहेको बताउँछन् । यसपटक २५ औँ महामूर्ख उपाधिका लागि कुन क्षेत्रका व्यक्ति हकदार हुनुहुन्छ भन्ने प्रश्नमा संयोजक शशिले नाम आउने क्रम जारी भएको बताए।

परिषद्ले चैत १४ गते होरी गायन प्रतियोगिता र १५ गते महामूर्ख सम्मेलनको कार्यक्रम राखेको छ। सम्मेलनमा एक जनालाई महामूर्ख र सात जनालाई पटमूर्खको उपाधि प्रदान गरिनेछ।रासस

Skip This
Skip This
Logo