जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा सीमावर्ती भारतीय सहरमा जान रोक

जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा सीमावर्ती भारतीय सहरमा जान रोक

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती सहर रुपैडिया जान रोक लगाएको छ।

भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

उनका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो। बैठकले स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने गराउने निर्णय समेत गरेको छ। 

लक्षण देखिएका बिरामीको एन्टिजीन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई सिधै भेरी अस्पतालमा पठाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले जानकारी दिए। अनावश्यकरूपमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डिसिसिएमसीले आग्रह गरेको कोभिड जिल्ला स्रोतव्यक्ति तेज ओलीले जानकारी दिए।

उनका अनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठवटै स्थानीय तहलाई क्वारेन्टिन निर्माणलगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ।

भारतबाट आएका नागरिकलाई जमुनाह नाकामा स्थापना गरिएको स्वास्थ्य जाँचकक्षमा जाँच गरी १० दिन क्वारेन्टिनमा राख्नुपर्ने र भेरी अस्पताल लगायतका स्वास्थ्य संस्थामा रहेका आइसोलेशनलाई प्रभावकारी बनाउने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ। 

भारतबाट नेपाल फर्किने सर्वसाधारणको स्वास्थ्य जाँचको लागि नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा सुविधासम्पन्न स्वास्थ्यकक्ष स्थापना गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नाकामा स्वास्थ्य कक्ष स्थापना गरेर कोरोना परीक्षण शुरु गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।
 
उनका अनुसार जमुनाह नाकामा स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने प्रविधिसहितको स्वास्थ्यकक्ष सञ्चालनमा आएको छ। बुधबार पहिलो दिन मुम्बई, दिल्ली, महाराष्ट्रलगायतका शहरबाट आएका १० नेपालीको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।रासस 

Skip This
Skip This
Logo