काठमाडौँ महानगरपालिका र सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधि बीचको छलफल सकारात्मक भएको भएको छ ।
फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।
फोहोर विसर्जनमा अवरोध भएपछि बुधबार राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीडितहरुसँग करीब पाँच घण्टा छलफल गरेपछि पुनः बिहीबार एक बजे बैठक बस्ने र निर्णयमा पुग्ने गरी छलफल स्थगन भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
छलफलका क्रममा उनीहरुका माग सम्बोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि केही प्रस्ताव अघि सारेपछि उनीहरु सकारात्मक बनेका हुन् ।
छलफलमा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका थिए ।
त्यसैगरी प्रमुख शाक्यले यस अघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरेका थिए । यस अघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए ।





























प्रतिक्रिया