आर्थिक रुपमा विपन्न, अशक्त, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने
काठमाडौं । सरकारले अबदेखि कोभिड–१९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त तथा असाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएका हुन् ।
उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमको भनाइ छ । तर कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने उनले जानकारी दिए । अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था आज (कात्तिक २ गते) देखि नै लागू भएको पनि प्रवक्ता गौतमले स्पष्ट पारेका छन् । उनले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यस्तो व्यवस्था गरिएको बताए । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागु हुनेछ ।
त्यस्तै सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले कम्तिमा ५० प्रतिशत सबै किसिमका शैय्या, आइसियु लगायतका पूर्वाधारहरु कोभिड–१९ को उपचारका लागि छुट्याउनुपर्ने भएको छ । साथै पछिल्लो ३ दिन कुनै पनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएमा होम आइसोलेसनमा बस्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको समेत प्रवक्ता गौतमले बताए ।





























प्रतिक्रिया