दिक्तेलमा सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करिब एक हजार आँखाका बिरामीले सेवा लिएका छन् । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको आँखा उपचार शिविरमा १४२ को शल्यक्रिया, १३५ लाई चश्मा वितरण तथा ८०४ जना आँखाका बिरामीले साधारण उपचार र निःशुल्क औषधि पाएका छन् ।
यही चैत २६ गतेदेखि सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा जिल्लाका २०० ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मासमेत वितरण गरिएको जनाइएको छ । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
उपचारमा आएका बिरामीलाई खाना तथा बासको समेत व्यवस्था गरिएको शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा महेश्वर चौधरीको नेतृत्वमा १३ स्वास्थ्यकर्मीको टोली आएको थियो । शिविरमा आएका अधिकांश आँखाका बिरामीमा मोतियाविन्दुको समस्या देखिएको आयोजक नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिए ।
आफ्नै जिल्लामा निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन भएपछि आँखाका बिरामी लाभान्वित भएका छन् । विगत चार वर्षदेखि मोतियाविन्दुका कारण बन्द रहेको आँखाले शल्यक्रियापछि देख्न थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ९० वर्षीया रामशोभा राईले बताइन् ।
दिक्तेलमा आयोजना गरिएको शिविरमा जिल्लाका १० वटै स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुरका बिरामीसमेत सहभागी भएको आयोजकले जनाएको छ । शिविरमा जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसहित विभिन्न सङ्घसंस्थाका पदाधिकारीले स्वयंसेवकका रूपमा सहयोग गरेका थिए । यसअघि रावाबेँसी गाउँपालिकामा आयोजना गरिएको शिविरमा ७२५ जनाको उपचार गरिएको थियो । गाउँपालिकाको आर्थिक सहयोगमा यही चैत २१, २२ र २३ गते सञ्चालन गरिएको शिविरमा ४२ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।































प्रतिक्रिया