दोस्रो चरणको खोप अभियान वैशाख ७ गतेबाट

दोस्रो चरणको खोप अभियान वैशाख ७ गतेबाट

केन्द्रबिन्दु
0
Shares

सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ। अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ। 

मन्त्रालयबाट प्राप्त विवरणअनुसार नेपालमा अहिलेसम्म कूल ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ। सहप्रवक्ता डा  डा समीरकुमार अधिकारीले झण्डै १४ लाख मात्रा खोप स्टक रहेको र केही आउने क्रममा रहेको जानकारी दिए।

आगामी वैशाख ७ गतेपछि भने शुरुआती चरणमा (माघ १४ गतेदेखि) खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइनेछ। पहिलो चरणमा माघ १४ बाट फागुन १० सम्म खोप लिएका दोस्रो चरणमा सहभागी हुनेछन्। त्यसबेला चार लाख ३९ हजारलाई खोप लगाइएको थियो। दोस्रोचरणको खोप उनीहरुलाई नै लगाइनेछ। उनीहरु सबै कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएर काम गर्ने व्यक्ति हुन्।

जुन ठाउँबाट खोप लगाइएको थियो, कार्ड लिएर त्यही ठाउँमा गएर खोप लगाउन सरकारले अनुरोध गरेको छ। नेपाललाई सुरुमा भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि चीनले आठ लाख मात्रा भेरोसिल खोप दिएको थियो। कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार मात्रा खोप आएको थियो। नेपाली सेनाले पनि एक लाख मात्रा ल्याएको छ। 

सरकारले प्रति मात्रा चार डलर तिरेर १० लाख मात्रा खोप ल्याइसकेको छ भने १० लाख मात्र ल्याउन बाँकी रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा झलक गौतमले बताए। सरकारले दोस्रो अभियानअन्तर्गत गएको फागुन २३ गतेबाट ६५ वर्षमाथिका व्यक्तिका लागि खोप अभियान चलाएको थियो। 

नेपालमा अहिले भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्म अन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनीले उत्पादन गरेको ‘भेरोसिल’ खोप मात्र प्रयोगमा छ।

Skip This
Skip This
Logo