विष्णु थापा मगर २७ माघ २०७२ मा स्वेदश आए। आएकै दिन भक्तपुरको सूर्यविनायक–४ मा रहेको डेरामा गए। जहाँ श्रीमती पार्वती थापा मगरसँगै छोराछोरी बस्थे।
२२ महिनासम्मको वैदेशिक रोजगारीबाट उनी आएका हुन्। आएको दिन र रात परिवारसँग बिताए। भोलिपल्ट बिहान माघ २८ गते पार्वतीले छोराछोरीलाई अघिल्लो दिनकै बासी भात दिए। खुवाएर स्कूल पठाए।
श्रीमान् विष्णुलाई चाहिँ अन्दाजी साढे ९ बजेतिर खाना दिए। खानामा थियो,–गहतको दाल, अण्डाकरी र भात। खाँदाखाँदै उनलाई उकुसमुकुस भयो। अफ्ठ्यारो महसुस गरेपछि उनलाई भक्तपुर अस्पताल लगियो।
उनी सिकिस्त विरामी परे। अन्ततः सोही दिन अन्दाजी १२ः४० बजे उपचारको क्रममा मृत्यु भयो।
तत्काल श्रीमती पार्वतीले प्रहरीमा ज्यानसम्बन्धी कसूरमा जाहेरी दिइन्। तर, प्रहरीलाई घटनाबारे शंका भयो। खाना खाँदाखाँदै कसरी उकुसमुकुस भयो विष्णुलाई? कतै खानामा विषादी त थिएन?
प्रहरीका लागि मृत्यु घटना अनुसन्धानको मूल प्रश्न यिनै थिए।
भक्तपुर प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीका अनुसार त्यही शंकाको आधारमा प्रहरीले मगर दम्पतीको कोठाबाट गहतको दाल, अण्डाकरी, भात र मुछिएको खाना बरामद गर्यो ।
र, परीक्षणका लागि विधि विज्ञान प्रयोगाशालामा पठाएको थियो। २०७४ साउन ९ गते किटनाशक विषादी ‘अर्गान फोस्फोरस इन्सेक्टिसाइडस्’ खानामा मिसाएको फेला पर्यो।
यसरी एकातिर खानाको परीक्षण गर्दा विषादी मिसिएको फेला पर्नु र अर्कातिर मृतकको भिसेरा परीक्षण प्रतिवेदनले स्वाभाविक मृत्यु नदेखिएको विवरण सार्वजनिक भएपछि मृतक विष्णुका भाइ लोकबहादुर मगरले सोही वर्षको पुस २७ गते प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी कसूरमा पार्वतीविरुद्ध किटानी जाहेरी दिए।
त्यसबेलासम्म पार्वती भने वैदेशिक रोजगारीका लागि जोर्डन उडिसकेकी थिइन्। प्रहरी उनको पखाईमा थियो। स्वेदश आएको जानकारीपछि उनलाई प्रहरीले बुधबार पक्राउ गर्यो । उनी घटना भएको पाँच वर्षपछि पक्राउ परेकी हुन्।
उनलाई विष सेवन गराइ कर्तव्य गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको भक्तपुर प्रहरी प्रवक्ता गिरीले बताए। उनीहरूको घर धादिङको मुलपानी हो।































प्रतिक्रिया