निषेधाज्ञा कार्यान्वयन गर्न काठमाडौंमा ३ हजार ३ सय प्रहरी परिचालन हुँदै

निषेधाज्ञा कार्यान्वयन गर्न काठमाडौंमा ३ हजार ३ सय प्रहरी परिचालन हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले कोभिड–१९ को दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिएपछि मानिसहरूको चहलपहल नियन्त्रणका लागि मातहतका प्रहरी जनशक्तिलाई परिचालन गर्ने तयारी गरेको छ।

निषेधाज्ञा जारी भएर लागू भएका जिल्लादेखि सक्रिय संक्रमित बढी देखिँदै गएका जिल्लाहरूमा चहलपहल नियन्त्रणमा प्रहरी परिचालन गर्ने भएका हुन्।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३ सय बढी प्रहरी जनशक्ति परिचालन हुने भएका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले उक्त संख्याका प्रहरी बिहीबार बिहान ६ बजेदेखि परिचालन हुने बताए।

परिचालन भएका प्रहरीले सार्वजनिक स्थानहरूमा हुने मानिसहरूको चहलपहल नियन्त्रण गर्नेछन्। सचेतना जगाउने काम पनि गर्ने प्रवक्ता राठौरले बताए।

‘परिचालन भएका प्रहरीले सचेतना जगाउने काम त गर्छन् नै, यसका अतिरिक्त सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न पटकपटक सम्झाइबुझाइ गर्छन् तर अटेर गरे चाहिँ ठाउँको ठाउँ तीन घण्टा ‘होल्ड’ पनि गराउँछन्”, एसपी राठौरले केन्द्रबिन्दुसँग भने।

उपत्यकासँगै देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएका छन्। संक्रमण तीव्र गतिमा फैलिरहेको छ। बुधबार मात्रै ४ हजार ८९७ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना संक्रमितको बुधबार मृत्यु भएको छ।

यसरी एकातिर संक्रमितको संख्या बढिरहँदा अर्कातिर मृतकको संख्या बढेको अवस्थामा जिल्ला कोभिड संकट व्यवस्थापन समितिले संक्रमणको स्थितिलाई विश्लेषण गर्दै धमाधम निषेधाज्ञा जारी गर्दै आएका हुन्।

यस्तो अवस्थामा नेपाल प्रहरीले कोभिड–१९ प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न लागिएको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले निषेधाज्ञालाई कडाइका साथ पालना गराउने बताए।

त्यसो भए मात्रै प्रतिकार्य योजना प्रभावकारी ढंगले कार्यान्वयन हुने उनको भनाइ छ। उनले जनस्वास्थ्यका मापदण्डहरूलाई पालना गराउन पनि सबैलाई आग्रह गरेका छन्।

प्रहरीले गत वर्ष पनि निषेधाज्ञा र बन्दाबन्दीको समयमा मानिसहरूको चहलपहल नियन्त्रण गर्ने जिम्मेवारी पाएको थियो। 

Skip This
Skip This
Logo