नयाँ भेरियन्टसहित समुदाय स्तरमा तीव्र रूपले फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था नेपालगन्जमा भयावह बन्दै गएको छ। संक्रमण नियन्त्रणमा नआउँदा यहाँका अस्पतालमा दैनिक ६ देखि १० जनासम्मको मृत्यु भइरहेको छ भने दैनिक ३ सयदेखि ५ सयसम्म व्यक्ति संक्रमित भइरहेका छन्।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार अहिलेसम्म बाँकेका १ सय ८ र जिल्लाबाहिरका १ सय ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। दिनहुँ मृतकको संख्या बढ्दा शव व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको सम्बद्ध अधिकारी बताउँछन्।
कोरोना भाइरसबाट बाँकेमा अहिलेसम्म कूल ८ हजार ५ सय ९७ जना संक्रमित भइसकेका छन्। बितेको २४ घन्टाभित्र ७ सय ५३ जनाको स्वाब परीक्षण गर्दा ५ सय ५३ जना पोजेटिभ देखिएका छन्। यीमध्ये २ सय ३३ जना भेरी अस्पताल, २ सय ६ जना मेडिकल कलेज, १ सय ८ जना बागेश्वरी ल्याब र ६ जना जमुनाहा हेल्थ डेस्कमा फेला परेका छन्।
संक्रमितमध्ये ३ हजार १ सय ७४ जना आइसोलेसनमा छन्, जसमध्ये होम आइसोलेसनमा २ हजार ९ सय ९९ जना रहेका छन्। यस्तै, भेरी अस्पतालमा २ सय ४२ जनाले उपचार गराइरहेका छन्। यसमध्ये ८५ जना सिकिस्त छन्।
नेपालगन्ज मेडिकल कलेजमा ४९ जना भर्ना भएकामा ३३ जना सिकिस्त छन्। होटल ह्वाइट हाउस, मनिकापुरमा ४३ जना बसिरहेका छन्। कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा उपचाररत १६ जनामध्ये ६ जना सिकिस्त छन्।
कोरोना संक्रमितको उपचार गरिरहेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा संक्रमितको चापले गर्दा पाइला टेक्ने ठाउँसमेत छैन। कोरोना संक्रमितले अस्पतालका बेड खचाखच भरिएका छन्।
अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक परिरहेको छ। दुवै अस्पतालमा अहिले पनि जनशक्ति अभाव भइरहेको छ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा संक्रमितको चाप अहिले पनि कायमै रहेको बताउँछन्। ‘दिनहुँ संक्रमित थपिरहेको स्थिती छ, बिरामी सञ्चो भएर घर फर्किएपछि वा मृत्यु भएपछि मात्र बेड खाली हुन्छ,’ उनले भने।
अस्पतालले जनशक्ति अभावले संक्रमितको उपचार गर्न कठिनाइ भएपछि तीन दिनअघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८० जना कर्मचारी भर्ना गर्न स्वीकृती दिइसकेको छ। अस्पतालले एनेस्थेसियोलोजिस्ट, एमबिबिएस चिकित्सक, स्टाफ नर्स भर्नाका लागि प्रक्रिया अगाडि बढाइसकेको छ।
अस्पतालले जनशक्ति अभाव समस्या क्रमिक रूपले समाधान गर्दै लगेको उनले बताए। ‘बिरामीको चाप थेगिनसक्नु छ, तापनि अस्पतालसँग उपलब्ध भएको बेडलाई अधिकतम प्रयोग गरिरहेका छौं,’ मेसु थापाले भने।
अस्पतालले सामान्य खालका संक्रमितलाई होम आइसोलेसनमै बस्न आग्रह गरेको छ। बिरामीको चाप अत्यधिक बढ्न थालेपछि गम्भीर खालका संक्रमितलाई मात्र भर्ना गरेर उपचार गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल बताउँछन्। ‘कोभिडका बिरामी आउने क्रम एकदमै बढिरहेको हुँदा गम्भीर प्रकृतिका बिरामीलाई भर्ना गरेका छौं, सामान्य अवस्थाका बिरामीलाई होम आइसोलेसनमै बस्न अनुरोध गरिरहेका छौं,’ उनले भने ‘गम्भीर खालका बिरामीलाई बेडको कुनै समस्या परेर एक छिन रोक्नुस् भनेका छौं, तर, अस्पतालमा आएका बिरामीलाई फर्काउने गरेका छैनौं।’
अस्पतालमा बेड अभाव भएपछि पछिल्लो समयमा बाँकेका ८ वटै स्थानीय तहले अक्सिजनसहितको कोभिड आइसोलेसन कक्ष स्थापना गर्न सुरु गरेका छन्। संक्रमितको उपचार गरिरहेका यहाँका दुवै अस्पतालका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेका छन्।
स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण भएपछि उपचारमा जटिलता उत्पन्न हुने चिन्ता थपिएको छ। भेरी अस्पतालका अनुसार बिहीबारसम्म त्यहाँ कार्यरत ७ जना चिकित्सकसहित स्टाफ नर्स, पारामेडिक्स, हेल्फर गरेर ७० भन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ।
यस्तै, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत ८ जना चिकित्सकसहित ४२ जना स्टाफ नर्सलगायतलाई कोरोना संक्रमण भएको छ।
कतिपय संक्रमित स्वास्थ्यकर्मीले कोभिड वार्डमा खटिएर बिरामीको सेवा गरिरहेका छन्। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले भने, ‘कोरोना पोजेटिभ भएर पनि सामान्य अवस्थामा रहेका स्टाफ नर्सले अहिले पनि बिरामीको सेवा गरिरहेका छन्।’
संक्रमित भएका स्टाफ नर्स, पारामेडिक्स, हेल्फरहरू केही अस्पतालमा भर्ना छन् भने केही होम आइसोलेसनमा बसिरहेका छन्।
मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मी केहीलाई होम आइसोलेसन र कोहीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको छ। मेडिकल कलेजका उपनिर्देशक डा. दिनेश श्रेष्ठले कोरोना संक्रमण भएर स्वास्थ्य अवस्था गम्भीर भएका स्वास्थ्यकर्मी अस्पतालमै भर्ना भएर उपचार गरिरहेको र सामान्य अवस्थाका स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेको बताउँछन्।
‘पोजेटिभ भइसकेपछि स्वास्थ्यकर्मीले काम गर्नुभएको छैन, कोभिडका बिरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा समस्या त हुने नै भयो नि,’ श्रेष्ठले भने।
समुदायस्तरसम्म फैलिसकेको कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले बाँके जिल्लाभर लकडाउन गरिरहेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि निषेधाज्ञा जारी गर्नुपरेको र निषेधाज्ञाका क्रममा नागरिकलाई अनावश्यक रूपमा हिँडडुल गर्न नदिइएको बताए।
तस्बिर: भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका संक्रमित





























प्रतिक्रिया