कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ। नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ।

यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई कोरोनाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गरे।

महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन्। ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन्। यस्तै ५८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन्। महासङ्घको अभिलेख अनुसार यस वर्ष छ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन्। त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५१७ पत्रकार विस्थापनमा परेका छन्।

सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो। त्यही घोषणापत्र जारी भएको दिन अर्थात् मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो।

दिवसका अवसरमा अध्यक्ष पोख्रेलले नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति योगदान पुर्याउने सबैप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

नेपालमा पनि पत्रकार महासङ्घको आयोजनामा युनेस्कोसँगको सहकार्यमा मे ३ अर्थात् आज भर्चुअलरूपमा अन्तरक्रिया गरिँदै छ। कोरोना सङ्क्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकाले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअलरूपमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ।

अन्तर्क्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ। यसैगरी नेपालका विभन्न तहमा बन्न थालेका नौ कानूनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणीसमेत सार्वजनिक गरिँदैछ।

दिवसका सन्दर्भमा हुने अन्तर्क्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने अध्यक्ष पोख्रेलले विश्वास लिएका छन्।

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ। त्यतिमात्र होइन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो। नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए पनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन। प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाइमा पु¥याउन पत्रकार महासङ्घ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी रहेको उनले बताएका छन्।रासस

Logo