पछिल्लो समय कोरोना हटस्पट बन्दै गएको वीरगन्जको अवस्था नाजुक रहेको छ। सरकारी र निजी दुवै अस्पतालमा बेड खोज्दाखोज्दै कतिपय बिरामीको मृत्यु भएको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन्।
अस्पतालका सबै शैया भरिभराउ भएकाले गम्भीर प्रकृतिका संक्रमितलाई पनि साधारण ओपिडिबाटै उपचार गर्नुपर्ने बाध्यता रहेको वीरगन्जस्थित नारायणी अस्पतालका डा.उदय सिंहले बताएका छन्। अहिले कोही गम्भीर बिरामी भएको खण्डमा प्रदेश २ भरिका अस्पताल चाहर्दा पनि बेड पाउन मुस्किल हुने उनको भनाइ छ।
‘यहाँको अवस्था भयावह छ, यो सबै देख्दा रुन मन लाग्छ। स्वास्थ्यकर्मी भएर पनि केहि गर्न नसकेजस्तो अनुभूति भइरहेको छ,’ डा. सिंहले भने। उचित उपचार नपाएर दिनैपिच्छे मृत्यु भएका बिरामीको संख्या सुन्दा झनै आफूहरुलाई पीडा हुने गरेको उनको धारणा छ।
अस्पताल आएका अधिकांश संक्रमितमा तीन चरण पार गरेको भेटिएको छ। प्रदेश २ मा उपचार गर्न आएका संक्रमितलाई पहिलो चरणमा रुघाखोकी र सामान्य ज्वरो मात्र आउने गरेको र त्यसको सात दिनपछि उनीहरुलाई निमोनियाको चरण सुरु भएको र फेरि त्यसको १५ दिनभित्रमै तेस्रो चरण अर्थात अक्सिजन लेभल कम भएर सास फेर्न गाह्रो हुने गरेको डा. सिंहको धारणा छ। ‘अक्सिजन लेभल ६०–७० प्रतिशत मात्र भएपछि सास फेर्न गाह्रो भएर संक्रमित अस्पताल भर्ना हुन आउँछन्। तर, बेड नभएकाले स्थिति विकराल बन्दै गएको छ,’ सिहंले थपे।
अबको १५ दिनभित्र प्रदेश २ मा अत्याधुनिक सुविधासहितको सय बेडको कोभिड विशेष अस्पताल बनाउनैपर्ने डा. सिंहको सुझाव छ।
पछिल्लो समय प्रदेश २ कोरोना संक्रमणको हट स्पोटका रुपमा परिणत हुँदै गएको छ। दैनिक पिसिआर गर्नेमध्ये आधाजसोमा संक्रमण देखिएको र दैनिक ४–५ जनाको मृत्यु भइरहेको छ।
अबको १५ दिनभित्र प्रदेश २ मा अत्याधुनिक सुविधासहितको सय बेडको कोभिड विशेष अस्पताल बनाउनैपर्ने डा. सिंहको सुझाव छ।
अस्पताल नबनाउने र अन्य अस्पतालमा शैया थप नगर्ने हो भने स्थिति भयावह बन्दै जाने उनको भनाइ छ। ‘अहिले नै यथोचित रुपमा अक्जिसन, संक्रमित ओसार्न एम्बुलेन्स जस्ता साधनको व्यवस्था गर्न तीनै तहको सरकार चुक्यो भने १५ दिनपछि मृत्यु हुनेको संख्या अहिलेभन्दा पाँच गुणासम्म बढ्न सक्छ, यसतर्फ समयमै सचेत हुनुपर्छ,’ डा. सिंहले केन्द्रबिन्दुकर्मीसँग भने।
डा. सिंहले प्रदेश २ मा तत्काल संक्रमण दर र मृत्यु दर रोक्न सकिने तीन उपाय सुझाएका छन्। उनका अनुसार संक्रमित पहिचान गर्न परीक्षणलाई तीव्रता दिनुपर्ने, संक्रमितलाई अस्पतालसम्म पु¥याउन साधनको व्यवस्था गरिनुपर्ने र जतिसक्दो छिटो सय शैयाको भौतिक पूर्वाधारसहितको अस्पताल निर्माण गरिनु जरुरी छ।
तीनै तहका सरकारबीच संक्रमण नियन्त्रणमा समन्वय अभाव रहेको र तिनीहरु मौन रहेको उनको आरोप छ। प्रदेश २ मा लकडाउन गर्न ढिला भएको उल्लेख गर्दै सिंहले आइसोलेसन केन्द्र र अस्पताल निर्माणको काम हुन नसकेको उनले जनाए। ‘बल्ल एउटा धर्मशालामा सामान्य खालको आइसोलेसन बनाइएको छ। तर, त्यसले संक्रमण नियन्त्रणमा खासै प्रभाव पार्दैन। अहिले प्रदेश २ को अवस्था हेर्दा सामान्य होइन, सुविधायुक्त आइसोलेसन र अस्पताल आवश्यक छ,’ उनले भने। यस्तो महामारीका बेलामा जनप्रतिनिधि र सरकारी कर्मचारी केही तत्परता नलिइकन मौन बस्नु आश्चर्यजनक रहेको उनको धारणा छ।
डा. सिंहले आफूले महामारी भयावह नबन्दै चैत २४ गतेको सर्वदलीय बैठकमा विज्ञको हैसियतले प्रदेश २ मा हुनसक्ने जोखिमबारे बताएको जानकारी दिए। ‘हामीसँग १० दिन मात्र रहेको र सक्ने जति सबै तयारी गरौ भन्दा पनि त्यसलाई सबैले बेवास्ता गर्दा अहिले यो अवस्था आयो। पछिल्लो १५ दिनभित्र वीरगन्जमा अवस्था विस्फोटक बनेको छ,’ उनले भने।































प्रतिक्रिया