ललितपुर कुपन्डोलस्थित विध ल्याब बिहान ७ बजे खुल्छ। ल्याब खुलेदेखि नै कोभिड–१९ का सम्भावित संक्रमितको स्वाब संकलन सुरु हुन्छ। त्यहीँ संकलित तथा उपत्यकाका विभिन्न अस्पतालबाट आएका स्वाबको पिसिआर परीक्षण ९ बजेदेखि गर्न थालिन्छ।
दैनिक १३ सय हारहारीमा परीक्षण भइरहेको विध ल्याबमा पिसिआर परीक्षण र परीक्षण रिपोर्ट वितरण रातको २ बजेसम्म जारी रहने गरेको विध ल्याबकी इन्चार्ज डा. विनिता थापाले बताइन्।
काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरको दैनिकी पनि त्यस्तै छ। अल्फा केयरमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ३ सय स्वाब संकलन हुन्छन्, जसको परीक्षण मध्यरातसम्म जारी रहन्छ।
पिसिआर परीक्षण गराउन आउनेको संख्या कोभिड–१९ को पहिलो लहरभन्दा दोस्रो लहरमा चार गुणा बढी भएको अल्फाकेयरका कन्सल्टेन्ट डा. विशाल ढकालले बताए। ‘कोरोनाको पहिलो लहरमा दैनिक ५०–६० पिसिआर परीक्षण गर्थ्याैं । अहिले त्यो संख्या २ सय हारहारी छ। परीक्षणको गुणस्तर मध्यनजर गर्दै हामीले त्यसभन्दा बढी परीक्षण गरेका छैनौं। त्यही पनि कामको चाप बढी नै छ,’ ढकालले भने।
कोरोना संक्रमण तीव्र भएसँगै मानिसमा कोरोनाप्रति गम्भीरता बढेकाले परीक्षण गर्न आउनेको संख्या बढेको ढकालले उल्लेख गरे।
परीक्षण गर्न आउनेको संख्या बढेसँगै ल्याबका कर्मचारीलाई कामको चाप बढेको विध ल्याबका रिलेसन म्यानेजर रविशंकर पोखरेलले जनाएका छन्। ‘कामको चाप अत्यधिक छ। त्यसमाथि कहिलेकाहीँ परीक्षण इन्कनक्लुजिभ (निष्कर्षहीन) हुने गर्छ। त्यस्तो अवस्थामा पुनः स्वाब लिनुपर्ने वा पुनः परीक्षण गर्नुपर्ने भइदिन्छ,’ पोखरेलले भने।
विध ल्याबमा रहेको प्रयोगशालामा झन्डै चार हजार बढी परीक्षण गर्ने तयारी गरिएको छ। तर, कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै कोरोनाबाहेक रोगको परीक्षणका लागि आउने बिरामीको संख्या निल जस्तै छ।
दैनिक १३ सय हाराहारीमा परीक्षण भइरहेको विध ल्याबमा पिसिआर परीक्षण र परीक्षण रिपोर्ट वितरण रातको २ बजेसम्म जारी रहने गरेको विध ल्याबकी इन्चार्ज डा. विनिता थापाले बताइन्।
‘अहिले ल्याबको सम्पूर्ण क्षमता कोरोना परीक्षणमा खपत भइरहेको छ। नियमित जाँचका लागि आउने मानिसको संख्या अहिले शून्यसरह छ,’ विध ल्याबकी इन्चार्ज डा. थापाले भनिन्।
साधारणतया स्वाब लिएको ६ घन्टामा पिसिआर रिपोर्ट तयार हुने गरे पनि अत्यधिक चापले अहिले ८ देखि १२ घन्टासम्म लाग्ने गरेको डा. थापाले जनाइन्।
ल्याबका कर्मचारी पनि संक्रमित!
कारोना परीक्षण गर्दै आएका ल्याबका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। हाल विध ल्याबका तीन कर्मचारीमा संक्रमण देखिएको डा. थापाले बताइन्।
‘कहिलेकाहीँ पिपिई लगाउँदा र फुकाल्दा मानवीय त्रुटि भएर संक्रमण हुन सक्छ। बिरामीले जथाभावी थुकिदिने जस्ता लापरबाही गरिदिँदा पनि त्यस्तो हुन जान्छ। कसैलाई घर वा अन्य स्थानबाट पनि संक्रमण फैलिएको हुन सक्छ’ डा. थापाले भनिन्।
कस्तो छ कोरोना पोजिटिभ दर?
विध ल्याब र अल्फाकेयर दुवैमा परीक्षणका लागि गएकामध्ये ६० प्रतिशतको हाराहारीमा कोरोना पोजिटिभ देखिएको ल्याबका अधिकारी बताउँछन्।
‘पहिलो लहरमा पोजिटिभ दर २०–३० प्रतिशत हुने गथ्र्यो। अहिले त्यो बढेर ६० प्रतिशत पुगेको छ। परीक्षणका लागि आउनेको चाप र पोजिटिभ दर दुवै बढेका छन्,’ अल्फाकेयरका ढकालले भने।
त्यस्तै विध ल्याबमा पोजिटिभ दर ५० देखि ६० प्रतिशतको बिच रहँदै आएको डा. थापाले बताइन्।
आइतबार भने ल्याबको पोजिटिभ दर ३२ प्रतिशत, अल्फाकेयरको पोजिटिभ दर ७३ प्रतिशत र देशभरको पोजिटिभ दर ४६.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ। अहिले देशभरका ५१ सरकारी र ३६ निजी गरी जम्मा ८७ वटा ल्याबमा पीसीआर परीक्षण भइरहेको छ।
कस्ता छन् दोस्रो लहरका कोरोना संक्रमित?
ल्याबहरूका अनुसार लक्षणसहितका बिरामीहरूको संख्या पहिलोभन्दा दोस्रो लहरमा बढी रहेको छ।
‘लक्षणसहितका बिरामी धेरै छन्। त्यसमा पनि युवाको अनुपात बढी छ,’ डा. थापाले भनिन्।
‘वान्ता हुने, चिलाउने र आँखा पाक्नेजस्ता लक्षण पनि बिरामीमा देखिएका छन्,’ विध ल्याबका पोखरेलले थपे।
अहिलेको कोरोना दुईतीन दिनमै गलाइहाल्ने खालको भएको अल्फाकेयरका डा. ढकालको अनुभव छ।





























प्रतिक्रिया