अक्सिजनको माग अत्याधिक बढ्यो, तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो संकट देखा पर्ने

अक्सिजनको माग अत्याधिक बढ्यो, तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो संकट देखा पर्ने

केन्द्रबिन्दु
0
Shares

अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन्।

कोभिड १९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन्। अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लाण्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए। उनले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणाले वृद्धि हुने चेतावनी दिए। 

उनले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए। उनले अहिले काठमाडौं उपत्यकामा मात्रै ८ वटा प्लाण्ट सञ्चालनमा रहेको र २ वटा प्लाण्टहरु मर्मतको क्रममा रहेको जानकारी दिंदै सबै प्लाण्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए। अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिण्डर उत्पादन भइरहेको पनि उनले जानकारी दिए।

सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्षसमेत रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खाली सिलिण्डर उद्योगमा फिर्ता गरेर सर्वसाधारणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गरे।

“बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ। उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्थ छैन। २४ सै घण्टा प्लाण्ट चलेको भएपनि वितरण प्रणालीमा आसाध्यै ठूलो चुनौती दिएको छ। कोभिड १९ संक्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपूर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपायहरु अपनाउन निजी उद्योगीहरु र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ। सबै प्लाण्टहरु पूर्ण क्षमतामा सञ्चालनमा छन् र पूर्ण क्षमतामा सञ्चालनमा आउँदा अहिले प्रतिदिन ९ हजार सिलिण्डर उत्पादन गरिरहेको अवस्था छ। यो उत्पादनले बजारको माग, अस्पतालको माग थेग्न नसक्ने अवस्थामा छ। उपत्यकामा मात्रै ८ वटा प्लाण्ट चालु अवस्थामा छन्। २ वटा प्लाण्टहरु मर्मतको क्रममा छन्। २ वटा प्लाण्ट चलेको अवस्थामा पनि त्यो उत्पादनले पनि अहिलेको अवस्थामा माग थेग्न नसक्ने अवस्था छ। तत्काल सरकारले वैकल्पिक व्यवस्था गरेन भने भयावह स्थिति आउने संभावना बढ्दै गएको छ। वैकल्पिक व्यवस्था भनेको बाहिरबाट आयात गर्ने कि यहाँको उत्पादन क्षमता बढाउने हो यसबारे तत्काल निर्णयमा पुग्नुपर्छ।

समयमै सबैलाई समेटेर आपूर्ति व्यवस्थापन गर्नु जरुरी देखिन्छ। हाम्रो आँकलन र अहिले र्यापिड्ली बढेको कोभिड संक्रमणको अवस्थाले हाम्रो उत्पादनले थेग्ला जस्तो लाग्दैन। किनभने हरेक क्षेत्रबाट देशै भरीबाट अक्सिजनको अभावका, अस्पतालका विरामीले अक्सिजन पाएनन् भन्ने सूचनाहरु प्राप्त भइरहेको छ। यो अवस्थामा सरकारले, उद्योगीहरुले चनाखो भएर, सचेत भएर यसको व्यवस्थापन गर्नु जरुरी देखिन्छ।

यो महामारी सबैको प्रयासबाट समाधान गर्ने हो। अक्सिजन भनेको आजको आजै बनाउने भन्ने संभावना छैन। त्यसैले भएका क्षमता स्रोतलाई नै अधिकतम उपभोग गरेर यो महामारीलाई परास्त गरौं। कसैले पनि घरमा स्टक राख्ने काम नगरौं, आफूले प्रयोग गरिसकेका सिलिण्डरहरु तत्काल सम्बन्धित कम्पनिमा फर्काईदिउँ। इन्डस्ट्रि«जमा भएका, कसैले घरमा लगेर राखेका छन् भने तत्काल फर्काईदिउँ। ह्स्पिटलले पनि खाली सिलिण्डरहरु तत्काल कम्पनीमा फर्काएर, यो सिलिण्डर अरुलाई पनि काम लाग्छ, अरु दुईजना विरामी बाँच्छन् भन्ने कुरामा ध्यान पुगोस् भन्ने अनुरोध गर्न चाहन्छु।

हिजो सोचे भन्दा तीन गुना अक्सिजनको माग बढेर गएको छ। हामीले उत्पादन गरेको स्थितिले अबको बजार र माग पुरा गर्न नसक्ने स्थिति आइसकेको छ। त्यसकारणले सम्बन्धित निकाय र सम्बन्धित उद्योगीहरु तयार भएर यसको विकल्प के हो? त्यसको व्यवस्थापन गरेर हामी अगाडि बढेनौं भने यो देशमा अक्सिजनको विषयलाई लिएर ठूलो अभाव हुने संभावना मैले देखेको छु। ”

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधारण अहिले आफन्तको उपचारका लागि आफैं अक्सिजन उत्पादन कम्पनिमा पुग्ने गरेका छन्। सर्वसाधारण अक्सिजनको सिलिण्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ। ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिनदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। विशेष गरेर सरकारले सम्बन्धीत निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वसाधारण उद्योग घेराउमा निस्किएका छन्। मन्त्रालयले अस्पताल बाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराइरहेका विरामीको आवश्यकतालाई वेवास्ता गरेको भन्दै सर्वसाधारणहरु आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

Logo