यात्रुसँग बढी भाडा लिने ३३ जना ट्राफिक प्रहरीको फन्दामा

यात्रुसँग बढी भाडा लिने ३३ जना ट्राफिक प्रहरीको फन्दामा

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात परिचालन गरेको ठगीविरुद्धको बिशेष अपरेसन टोलीले विभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ।

ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरि हालसम्म तेत्तिस जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ। ठगी गर्नेहरु विरुद्धको अपरेसन टोलीले बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यका बाहिरी जिल्लाहरु जाने यात्रुसँग छ गुणासम्म बढी भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीहरुको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ। 

“निषेधाज्ञा पश्चात यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिने गिरोहलाई कारबाही गर्न छुट्टै डेडिकेटेड अपरेसन टोली परिचालन गरेका छौं, टोलीले काउण्टर तथा आसपासको क्षेत्रमा निगरानी गर्ने, यात्रुसँग गोप्यरुपमा बुझ्ने, यात्रु बनेर भाडा बार्गेनिङ्ग गर्ने र ठगी गरेको पाइए पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

उनले गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीब्रता दिंदै आएको र बढी भाडा लिने जोसुकैलाई नियन्त्रणमा लिने गरिएको बताए । उनका अनुसार पछिल्लो समय काउन्टरका कर्मचारी नै यात्रु ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ।

निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएको छ। 

ट्राफिक प्रहरीले काठमाडौंको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ बर्षे अनिल बिक, बर्दिया गेरुवाका बर्ष ३७ का कृष्ण चौधरी र सोहि स्थानका ३५ बर्षे बलबहादुर थारुलाई पक्राउ गरि प्रहरी वृत्त बालाजुमा बुझाएको छ। दाङ र नेपालगञ्ज जाने यात्रुहरुसँग प्रतिब्यक्ती तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिएको कसुरमा उनीहरु पक्राउ परेका हुन्।

त्यस्तै गरि ट्राफिक प्रहरीले बारा जाने यात्रुहरुसँग दोब्बर बढी भाडा लिएको पाएपछि बाफलबाट सर्लाही बरथहवाका २४ बर्षे अरबिन्द कुमार साह र सिम्रौनगढ बाराका वर्ष २५ का अफताब आलमलाई पक्राउ गरि आवश्यक कारबाहीको लागि प्रहरी बृत्त स्वयम्भूमा बुझाएको महाशाखाले जनाएको छ।

तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

Logo