कोभिड महामारीका भरोसा समाजसेवी ‘ताराबहादुर कुँवर’

कोभिड महामारीका भरोसा समाजसेवी ‘ताराबहादुर कुँवर’

केन्द्रबिन्दु
0
Shares

एघार वर्षको उमेरमा उनी खाली खुट्टा राजधानी छिरेका थिए। ती दिन अत्यन्त संघर्षपूर्ण थिए उनका लागि।

आखिर मिहिनेत र कडा परिश्रमले गर्दा छुट्टै पहिचान बनाउन सफल छन् उनी अर्थात् ताराबहादुर कुँवर। अहिले कुँवर समाजसेवी तथा चक्रपथ सरसफाइ अभियानका अभियन्ता भनेर चिनिन्छन्।

काठमाडौं छिरेपछि सुरुका दिनमा ठेला चलाएर जीविका चलाए उनले। त्यसपछि रिक्सा, टेम्पो, ट्रक हुँदै हेभी इक्वीपमेन्टसम्म पनि हात हाले उनले। त्यसो त उनी केही वर्षयता हेभी इक्वीपमेन्ट व्यवसायीका रुपमा पनि परिचित छन्। उनले हेभी इक्वीपमेन्ट व्यवसायी संघको अध्यक्ष भएर नेतृत्वदायी भूमका समेत निर्वाह गरिसकेका छन्।

कोरोना नयाँ भेरियन्टका कारण तीव्र रुपमा महामारी फैलिएपछि सरकारले तीन सातादेखि उपत्यकालगायत मुलुकभर निषेधाज्ञा जारी गरेको छ। यस्तो जोखिमको बेलामा पनि कुँवर घरभित्र बसेका छैनन्।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका बिरामीले अक्सिजन सिलिन्डर नपाएर मृत्युवरण गरेको समाचारले उनलाई बेचैन बनायो। दुई सातादेखि उनले कोभिड बिरामीको लागि निःशुल्क अक्सिजन सिलिन्डर जुटाउँदैछन्।   

यस अवधिमा उनले सुरु गरेको अक्सिजन सिलिन्डर खोज अभियान अन्तर्गत १ हजार ५ सय  थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। यसरी संकलन भएका सिलिन्डर उनले सम्बन्धित सरकारी निकायलाई बुझाएका छन्।

आफ्नो सानो प्रयासले अक्सिजन नपाएर छटपटाइरहेका कोभिडका केही बिरामीलाई राहत मिलेको उनको भनाइ छ। ‘यस कार्यले विपद्को घडीमा थोर बहुत भए पनि बिरामीलाई मलमपट्टी लगाउनसकेको महसुस भएको छ,’ उनी भन्छन्। 

यसरी सुरु भयो अक्सिजन सिलिन्डर खोज अभियान

एकातिर, उपत्यकालगायत मुलुकभर कोभिडका बिरामी अस्पतालमा अक्सिजन नपाएर छटपटाइ रहेका थिए। अर्कोतिर, विभिन्न ठाउँमा अक्सिजन सिलिन्डर लुकाएर राखिएको छ भन्ने उनले पत्ता लगाए।

त्यसपछि, एउटा अक्सिजन सिलिन्डरले कसैको ज्यान बच्छ भने म किन पछि हट्ने भन्दै उनले अभियान सुरु गरे। उनले विभिन्न वर्कसप, ग्यारेज, हुक्का बनाउने ठाउँ, कवाडी आदि ठाउँमा गएर सिलिन्डर खोज्न लागे। 

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका बिरामीले अक्सिजन सिलिन्डर नपाएर मृत्युवरण गरेको समाचारले उनलाई बेचैन बनायो। दुई सातादेखि उनले कोभिड बिरामीको लागि निःशुल्क अक्सिजन सिलिन्डर जुटाउँदैछन्।   

अक्सिजन सिलिन्डर लुकाएको सूचना उनले प्रहरी र प्रशासनलाई दिएपछि विभिन्न स्थानबाट सिलिन्डर संकलन भएको उनी बताउँछन्। ‘संकलन  भएका सिलिन्डर विभिन्न अस्पताल, प्रहरी कार्यालय र सिलिन्डर अभाव भएका बिरामीलाई उपलब्ध गराएँ,’ उनी भन्छन्। संकलन भएका ३८ थान सिलिन्डर उनले सञ्चारकर्मी तथा जनमैत्री अस्पताल, बालाजुका सञ्चालक रवि लामिछानेलाई दिएका छन्। प्रहरीले जफत गरेर लगेको सिलिन्डरमा भने आफ्नो दायित्व नभएको उनको धारणा छ। 

त्यसबाहेक उनले आफ्नै जमानीमा ५० वटा सिलिन्डर जोहो गरेर व्यक्तिगत तर्फबाट सिकिस्त कोरोना बिरामीलाई जनही एक–एक वटा बाँडेका छन्। उनले व्यक्तिगत चिनजान भएको ठाउँबाट फिर्ता गर्ने सर्तमा सिलिन्डर ल्याएका छन् । सिलिन्डर दिन नमान्ने कतिपय व्यक्तिहरुलाई उनले २० हजारको चेक दिएको उनी सुनाउँछन्।

यतिबेला आफूलाई आत्माबाटै राम्रो काम गरेको छु भन्ने महसुस भएको उनको धारणा छ। ‘भगवानले पनि माया गर्नुभएको जस्तो लाग्छ, त्यसकारण आजका दिनसम्म म लगायत मेरो परिवारका सदस्यहरु सुरक्षित छौं,’ उनी भन्छन्।

जे जति बिरामीलाई कुँवरले अक्सिजन सिलिन्डर व्यवस्था मिलाइदिए, ती सबैमा उनको व्यक्तिगत खर्च भएको छ।

राहत वितरण अभियान

मुलुकमा चीनबाट १८ हजार अक्सिजन सिलिन्डर सहयोग आएको छ। त्यसैगरी, अन्य मुलुकबाट पनि सहयोगस्वरुप अक्सिजन सिलिन्डर भित्रिएका छन्। त्यही भएर पनि सिलिन्डर खोजी अभियानलाई उनले स्थगित गरेका छन्। अब उनको ध्याउन्न महामारीका कारण दुई छाक खान नपाएका विपन्न परिवारलाई राहत पुर्याउने। 

अब उनले कतैबाट अक्सिजन सिलिन्डर आइहालेमा बिरामीलाई उपलब्ध गराउने तर आफैं भने अक्सिजन खोज्न नहिँड्ने सोच बनाएका छन्। ‘विभिन्न देशबाट सिलिन्डर आएकाले अब यो अभियानलाई यही स्थगित गरेर राहत वितरणमा लाग्ने सोच बनाएको छु,’ उनी भन्छन्।

हजुरलाई नमस्ते प्रालिका सञ्चालकसमेत रहेका कुँवरले हजुरलाई नमस्ते परोपकारी संस्थासमेत स्थापना गरेका छन्। उक्त संस्थाको अगुवाइमा लकडाउनमा हातमुख जोड्न अप्ठेरोमा परेका फरक क्षमता भएका व्यक्ति तथा परिवारलाई राहत वितरण हुँदै आएको छ। 

उनले अशक्त, अपांगता भएका व्यक्ति, सुत्केरी, एकल महिला, दृष्टिविहीन, वृद्धवृद्धा, मजदुर, विद्यार्थीलगायतलाई राहत वितरण अभियान सञ्चालन गर्दैछन्। उनको यो अभियानमा लोकगायक बद्री पंगेनीलगायत एक दर्जनभन्दा बढी व्यक्तिहरुले सहायता गरेका छन्।

‘अहिले नगरी कहिले गर्ने? मसँग क्षमता छ भने मैले किन नगर्ने? क्षमता लुकाएर त राख्नु भएन नि,’ उनले भने। 

कुँवरले गत वर्षको लकडाउनमा पनि राहत वितरण अभियान सञ्चालन गरेका थिए। गत वर्षको २७ हप्तासम्म सञ्चालन भएको राहत अभियानमा १ हजार ७ सय परिवारलाई कम्तिमा १५ दिनसम्म पुग्ने राहत बाँडेका थिए। प्रत्येक परिवारलाई चामल, दाल, आलु, नुन, तेल, साबुनलगायत सामग्री वितरण गरिएको थियो। 

लकडाउनका कारण आफ्नो कारोबार नोक्सानमा रहे पनि यस्तो बेलामा बेसहाराहरुको सहारा बन्न सकेकोमा उनी खुसी व्यक्त गर्छन्। 

गत वर्ष महामारीकै बीचमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले उनले रक्तदान अभियानसमेत सञ्चालन गरेको थिए। कोरोना संक्रमित बिरामीका लागि प्लाज्मा थेरापी उपचार विधिबाट उपचार गर्न ‘रक्तदान जीवनदान’ भन्ने नारासहित रक्तदान अभियान सञ्चालन गरेको उनले सुनाए।

१२ हप्ता सञ्चालन भएको उक्त अभियानमा ८ सय ३४ पोका रगत संकलन गरेर रेडक्रसलाई बुझाएका थिए। 

कुँवरले लामो समयदेखि चक्रपथ सफाइ अभियान समेत सञ्चालन गरिरहेका छन्। २०७१ सालदेखि सुरु गरिएको अभियानमा करिब ७ सय ट्रक चक्रपथको फोहोर निकाल्न सफल भएको उनको भनाइ छ। 

उनले गाउँ–गाउँमा दुई हजारभन्दा धेरै मानिसलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेका छन्। जसमा ५० लाखभन्दा बढी स्वास्थ्य सामाग्री उनले गाउँ–गाउँमा लगेर बाँडेका छन्। 

Skip This
Skip This
Logo