मन्त्रालयले तोकेको मापदण्डभित्रका स्वास्थ्य सामाग्री मात्र खरिद गर्न अनुरोध

मन्त्रालयले तोकेको मापदण्डभित्रका स्वास्थ्य सामाग्री मात्र खरिद गर्न अनुरोध

केन्द्रबिन्दु
0
Shares

कोभिड १९ संक्रमणको दोश्रो लहरसँगै यतिबेला संघीय राजधानी काठमाडौं लगायत अधिकांश स्थानमा निषेधाज्ञा लगाइएको छ। यसले सर्वसाधारणको जनजीवन क्रमशः असहज बन्दै गएको छ। 

निषेधाज्ञाको तेश्रो हप्ता पुग्दै गर्दा कोरोना संक्रमणको पहिचान दर र मृत्यु संख्या घट्न सकिरहेको छैन। सरकार कोरोना संक्रमण कम गराउन हर तरहले लागिरहेको छ। सरकारले कोरोनाविरुद्धको खोपको लागि विश्व समुदायसँग सहायता मागिरहेको छ। यससँगै सरकारलाई विभिन्न संघ, संस्था दातृ निकायहरुले विभिन्न किसिमका स्वास्थ्य सामाग्री सहयोगस्वरुप प्राप्त भइरहेको छ। 

यसरी प्राप्त हुने स्वास्थ्य सामाग्री आकस्मिक उपचार सेवाको लागि प्रयोग हुने र दैनिक व्यवहारमा प्रयोग हुने दुई प्रकारका छन्। सहयोगस्वरुप प्राप्त हुने आकस्मिक सेवाका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण र कार्य सघनताको मुल्यांकन गरेको पाईंदैन। महामारीको समयमा अभाव हुने यस्ता सामग्रीले तोकेभन्दा कम काम गरे वा गुणस्तरीय काम गरेनन् भने बिरामीको ज्यान नै जोखिममा पर्ने देखिन्छ। यसमा सहयोग लिने निकाय चनाखो हुनुपर्ने यस क्षेत्रका जानकारहरु बताउँछन्। 

काठमाडौंका विभिन्न ल्यावहरु र अस्पतालहरुमा परामर्शदाताको रुपमा काम गर्दै आएका बायोमेडिकल इन्जिनियर हरीराम दवाडीले आकस्मिक स्वास्थ्य सेवा उपचार र कोरोनाको सघन उपचारमा प्रयोग भइरहेका स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर र काम गराइबारे सही ढंगले परीक्षण नहुँदा जोखिम बढिरहेको बताए। उनले पछिल्लो समय अभाव र आवश्यकताको अनधिकृतरुपमा फाइदा उठाउँदै बजारमा भेन्टीलेटर, हाईफ्लो मेसिन र अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेकाले सचेत रहन आग्रह गरे।

यस्तै मेडिकल स्वास्थ्य सामाग्री तथा उपकरणको विक्रि वितरण गर्दै आइरहेका व्यावसायीहरुले पनि सामग्री उपकरण खरिद गर्न प्रयोग गर्नुपूर्व धेरै विचार गर्न र अध्ययन गरेर मात्र निर्णय लिन आग्रह गरेका छन्। स्वास्थ्य सामाग्री तथा उपकरण विक्रि गर्दै आएका व्यवसायी तथा रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले कोरोना संक्रमणको जोखिम बढेसँगै आकस्मिक स्वास्थ्य सेवा उपचारको लागि प्रयोग हुने उपकरणको खरिद र प्रयोगले व्यक्तिहरुको ज्यान जोखिममा पर्न थालेको बताए। उनले प्राविधिक ज्ञानसहित प्रयोग गर्नुपर्ने उपकरणहरु घर घरमा प्रयोग हुनुको साथै बजारमा नक्कली सामानको बिक्रिबितरण बढेको बताए।

यसैबीच, बजारमा छ्यापछ्याप्ती कम गुणस्तर र नक्कली सामान आउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्य सामाग्री उपकरणको गुणस्तर परीक्षण गरिने बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले आकस्मिक सेवा उपचारमा प्रयोग हुने उपकरण सामग्री मन्त्रालयले तोकेको मापदण्ड बाहेक नकिन्न र प्रयोग नगर्न अनुरोध गरे। मन्त्रालयले उपकरण सामग्री सहयोग लिंदा पनि तोकिएको मापदण्डभित्र परेको मात्र लिने नीति बनाएको डा. अधिकारीले बताए।

पछिल्लो समय मित्रराष्ट्र चीनबाट आयात गरिएका तथा विभिन्न संघ संस्थाले सहयोग हस्तान्तरण गरेका चीनमा निर्माण भएका स्वास्थ्य सामाग्री उपकरणमा गुणस्तर कायम हुन नसकेको पाइएको छ। विश्व बजारमा चीनको निर्माण/उत्पादन भएका आकस्मिक स्वास्थ्य उपचार तथा सेवामा प्रयोग हुने उपकरणलाई राम्रो मानिंदैन।

Skip This
Skip This
Logo