सङ्खुवासभामा पनि आइसीयू

सङ्खुवासभामा पनि आइसीयू

केन्द्रबिन्दु
0
Shares

पूर्वी पहाडी जिल्लामै पहिलोपटक सङ्खुवासभा जिल्ला अस्पतालमा आइसीयू सञ्चालन हुने भएको छ । आइसीयू सञ्चालनका लागि बिहीबार एक कार्यक्रमबीच जिल्ला अस्पताल र गुठीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसीयू सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला अस्पतालमा गुठीका अध्यक्ष तथा पूर्वसभासद पासाङ शेर्पा र जिल्ला अस्पताल सङ्खुवासभाबीच द्विपक्षीय सम्झौता भएको हो ।

जिल्ला अस्पताल व्यवस्थापन समितिले जतिसक्दो चाँडो आइसीयू सञ्चालनका लागि कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट नियुक्ति गर्नका लागि कुनिना शैक्षिक गुठीले मासिक तीन लाख अस्पताललाई उपलब्ध गराउने सम्झौता गरिएको छ । आइसीयू सञ्चालनका लागि मासिक तलब गुठीले उपलब्ध गराएको रकम अन्यत्र खर्च गर्न नपाइने गरी सम्झौता गरिएको हो ।

विशेषज्ञ जनशक्ति ल्याउनका लागि गुठीले सहयोग गरेको गुठीका अध्यक्ष शेर्पाले बताए । उनले भने, “मुलुकमा दिनानुदिन मानिस कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाइरहेकाले आफूहरूले सक्ने सहयोग गरिएको छ ।” विश्वभर नयाँ भेरियन्टको भाइरसका कारण मानिसको अकालमा मृत्यु भइरहेको भन्दै कसैको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले आफूहरूले आइसीयू सञ्चालनका लागि सहयोग गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

आवश्यक जनशक्तिका लागि गुठीले छ महिनाका लागि १८ लाख उपलब्ध गराउने सहमति भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । 

Logo