बाग्लुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण, जिल्लामा सङ्क्रमितको सङ्ख्या ५२५ पुग्यो

बाग्लुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण, जिल्लामा सङ्क्रमितको सङ्ख्या ५२५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

बाग्लुङ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन् ।

शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवा लगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा सङ्क्रमण देखिएकाले आत्तिहाल्नु पर्ने स्थिति नरहेको बताए।

“सेनाको ब्यारेक लगायत खासखास ठाउँ र ट्राभल हिस्ट्री भएका व्यक्तिमा सङ्क्रमण बढी छ”, उनले भने, “क्लस्टरबाट समुदायमा फैलन नदिन विशेष सावधानी अपनाउनु पर्छ ।” यात्रा विवरण नभएका सङ्क्रमित फाटफुट्ट देखिए पनि ठूलो जनसङ्ख्यामा कोरोना नपुगेको उनको भनाइ छ ।

समुदायमा कोरोनाको फैलावट रोक्न सबैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख गुरौले बताए । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३६७ छ भने आइसोलेसनमा १५७ सङ्क्रमित छन् ।

कोरोनाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ८५ छ । हालसम्म आठ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरुष ८६ र महिला १४ प्रतिशत छन् ।

सबैभन्दा बढी बागलुङ नगरपालिकामा १६८ र सबैभन्दा कम ताराखोला तथा निसिखोला गाउँपालिकाका १७/१७ जनामा सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणपछि निको भएको दर ७० प्रतिशत छ भने मृत्युदर ०.०२ प्रतिशत छ ।

यस्तै पिसिआर जाँच मध्येमा ६.०२ प्रतिशत सङ्क्रमण दर छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो । सङ्क्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा श्यया थप गर्न थालिएको छ । स्थानीय तहले पनि १०/१० श्ययाको आइसोलेसन केन्द्र बनाएका छन् ।रासस

Logo