प्रारम्भ सामाजिक संस्था तथा आनी छोइङ्ग डोल्मा फाउण्डेशनले कर्णाली प्रदेशलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कोभिड १९ विरुद्धको अभियानस्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई २,२ थानका दरले २० थान अक्सिजन कन्सनट्रेटर सहयोग उपलब्ध गराएका छन्।
प्रारम्भ र फाउण्डेशनले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेशका १० वटा अस्पतालका लागि उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
आनी छोइङ्ग डोल्मा फाउण्डेशनकी अध्यक्ष एवं गायिका आनी छोइङ्ग डोल्मा, सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधिसमेत रहेकी प्रारम्भ अध्यक्ष कल्पना क्षेत्री एवं सदस्य सुनैना क्षेत्रीले संयुक्तरुपमा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका थिए।
युवा व्यवसायी तथा सामाजिक अभियन्ताहरु यदु भट्टराई र मनोज पुरीसहित नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुर्खेत अध्यक्ष ललित बसेल तथा उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेल लगायतको समन्वयमा उक्त संस्थाहरूले प्रदेश राजधानी सुर्खेत पुगेर स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।
कोरोना महामारीको पहिलो लहर देखिनै स्वास्थ्य सामग्री लगायतका सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले नया भेरीएण्टसहितको महामारी फैलिएसँगै भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, पीपीइ, अक्सिमिटर, फर्स्ट एड किट्स लगायत सामग्री सहयोग गरिरहेको प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए।
उनका अनुसार सरकारी तथा सामुदायिक अस्पताल, कोभिड विशेष अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्राथमिकता दिएर राज्यले गरिरहेका गतिविधिमा सहयोग पुगोस् भन्ने हेतुले दुवै संस्थाले स्वास्थ्यको क्षेत्रमा विशेष मद्दत गरिरहेको छ।





























प्रतिक्रिया