भक्तपुर ।
कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भएपछि चाँगुनारायण नगरपालिका कार्यालय आइतबारदेखि बन्द गरिएको छ ।
नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रतिनिधीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी आइसोलेसनमा बस्नु परेकाले केही दिनका लागि नगरपालिका बन्द गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउँदै उनले सङ्क्रमितको नजिक सम्पर्कमा रहेका र लक्षण देखिएका सबैले पीसीआर परीक्षण गराएर सतर्कता अपनाउन सबैमा आग्रह गरे । सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेका सबैको आइतबार बिहानदेखि नै कन्ट्याक ट्रेसिङ्ग शुरु गरिएको उनले जानकारी दिए।
नगर कार्यपालिकाले एक सूचना जारी गरेर सङ्क्रमितसँग नजिक रहेकाको स्वाब परीक्षण शुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गरिएको जानकारी दिएको हो । नगरप्रमुख मिश्रका अनुसार नगरपालिकामा हालसम्म दुई जनप्रतिनिधि, दुई अधिकृत, दुई स्वास्थ्यकर्मीसहित यहाँका ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो नपामा कोरोनाका कारणले अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।रासस





























प्रतिक्रिया