असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा राहत लैजान समस्या भएको छ। मेलम्ची नगरपालिका केही ठाउँ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थलमार्गबाट राहत सामग्री लैजान समस्या भएको हो।
बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ। सो स्थानमा आजबाट मात्रै सडक सुचारु भएको छ। सडक नबन्दा हेलम्बु गाँउपालिकाको सिमानासम्म पनि सडकमार्गबाट राहत लैजान सकिएको थिएन। सो स्थानमा सडक सुचारु हुँदा हेलम्बु गाँउपालिकाको चनौटेसम्म यातायात सञ्चालन गर्न सकिन्छ। चनौटेमा रहेको रातोपुल पनि जोखिमयुक्त भएपनि यातायात भने सञ्चालन भइरहेको छ। हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनस्थापनाको काममा सजिलो हुने बताए।
जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको लागि भन्दै एकद्वार नीति लागू गरेको छ। जसअन्तर्गत दाताले ल्याएको सबै राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माद्यमिक विद्यालयमा गोदाम गरिएको छ। सो स्थानमा गोदाम गरिएको सामग्री पीडितको हातसम्म पुग्न सकेको छैन। हेलम्बु गाँउपालिकामा लैजान भनी दाताले ल्याएको राहत सामग्रीसमेत मेलम्चीमा नै रोक्ने गरिएको छ। हेलम्बुमा भने हेलिकोप्टरबाट पुर्याईएका सामग्रीको मात्रै भर पर्नुपर्दा पीडितले आधारभूत आवश्यकताका सामग्रीसमेत पाउन सकेका छैनन्।
हेलम्बु गाउँपालिकाभित्रका ६ वटा झोलुङ्गे पुल र ३ वटा पक्कि पुल पूर्ण क्षति भएको छ। बाँकी रहेको एउटा रातोपुलसमेत उच्च जोखिममा छ। बाढीले हेलम्बु गाउँपालिका सडक र सञ्चार सञ्जालबाट टाढिएको छ। नेपाल टेलिकमको मोबाइल सेवा बन्द जस्तै छ भने एनसेल चलाउने ग्राहकले समेत मोबाइल चार्ज गर्न पाएका छैनन्।
विद्युत् आपूर्ति बन्द भएकाले सोलार बत्ती अहिले त्यहाँको प्रमख आवश्यकता भएको छ। नेपाली सेनाले हेलिकोप्टरमार्फत केही टेन्ट लगेर टाँगेको भएपनि त्यो पर्याप्त हुन सकिरहेको छैन। मेलम्चीमा राहतको थुप्रो लागेको भएपनि हेलम्बुमा भने आधारभूत आवश्यकतासमेत पुरा हुन सकेको छैन।
बाढीले अझै कटान गर्न छाडेको छैन। यस्तो अवस्थामा सडकमार्ग सुचारु गर्न विभिन्न प्रविधिको प्रयोग गरि बस्तीहरुलाई सडक सञ्जालसँग जोडिराख्न सकिए मात्र पीडितको आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ।































प्रतिक्रिया