स्वास्थ्यमन्त्रीसँगै काठमाडौँका मेयर बाढीग्रस्त मेलम्चीमा, तीन पालिकालाई तीन करोड हस्तान्तरण

स्वास्थ्यमन्त्रीसँगै काठमाडौँका मेयर बाढीग्रस्त मेलम्चीमा, तीन पालिकालाई तीन करोड हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगेर ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो। 

काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा यस अघि नै प्रमुख शाक्यले गरेका थिए । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकनसमेत गरेको छ। 

बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची पुगेका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताए। ‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौँ महानगरपालिकाको सम्वन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौँबासी प्यास मेटाउन आतुर छन्। त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ। यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।

शाक्यले यहाँको क्षतिको हिसावमा महानगरपालिकाले गरेको सहयोग निकै सानो भएको पनि बताए। उनले भौतिक क्षति पुर्ननिर्माण गर्न सकिने भए पनि मानवीय क्षतिको परिपुर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्दार कार्यमा जुट्नु पर्ने पनि बताए। उनले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताए।   

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौँ महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गरे। ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ। मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’  उनले बाढीग्रस्त क्षेत्रको  समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए।  

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिए। ‘यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको छ,’ उनले भने, ‘भगिनी सम्वन्धलाई यो सहयोगले थप बलियो बनाएको छ। हामी काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौँ।’  

Skip This
Skip This
Logo