जेभिसीको बकेटले हिर्काएर वडाध्यक्ष हत्या प्रकरण: विकासप्रेमी छवि बनाएका थिए वडाध्यक्ष श्रेष्ठले

जेभिसीको बकेटले हिर्काएर वडाध्यक्ष हत्या प्रकरण: विकासप्रेमी छवि बनाएका थिए वडाध्यक्ष श्रेष्ठले

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ। 

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले घटनास्थल बस्तीभन्दा केही टाढा एकान्तमा रहेको बताए। 

 ‘घटनास्थल बस्तीभन्दा अलि पर एकान्तमा पर्छ, साँझ त्यो घटना भएपछि वडाका नागरिक त्रसित रहे, बेलुकै प्रहरीले शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल लिएर गए,’ देवकोटाले भने।

ईश्वरपुर–३ को मुखलाल बाँधमा यसअघि सानो आकारमा रहेको पानी सञ्चय गर्ने पोखरी विस्तारको योजना अनुगमन गर्न वडाध्यक्ष श्रेष्ठ त्यहाँ गएका थिए। 

अनुगमनमा जाँदा जेसिभी (डोजर) चालक तामाङले जेसिभीको बकेटले टाउको र छातीमा हिर्काएर वडाध्यक्षको हत्या गरेको प्रारम्भिक अध्ययनबाट देखिएको नगर प्रमुख देवकोटाले केन्द्रबिन्दुलाई जानकारी दिए।

वडाध्यक्ष र डोजर चालकबीच वादविवाद बढेपछि घटनाले हत्याको रुप लिएको स्थानीयले जनाएका छन्। प्रमुख देवकोटाले भने, ‘भर्खरै खनिएको पोखरी निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर चालकले वडाध्यक्षको हत्या गरेको देखिन्छ।’

पोखरी अनुगमनपछि नजिकैको पसलमा खाजा खाने क्रममा जेसिभी चालक रवीन भनिने हर्कबहादुर तामाङ र वडाध्यक्षबीच विवाद भएको थियो। खाजा खाँदा मादक पदार्थ पनि सेवन गरेको स्थानीयको भनाइ छ। 

‘खाजा खाएपछि दुवै पोखरी विस्तार भइरहेको ठाउँमा पुगेको देखिन्छ। खाजा खाएको बेला देखिकै विवादले आक्रोशित जेसिभी चालक तामाङले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेको भेटियो, त्यसपछि शवलाई खाल्डो खनेर पुर्न कोशिस गरेका रहेछन्,’ देवकोटाले भने।

प्रहरीले जेसिभी चालक  तामाङ र जेसिभी धनी प्रेम दाहाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सलाहीले जनाएको छ। प्रहरीले गम्भीरतापूर्वक छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने देवकोटाको भनाइ छ। 

को हुन् वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ?
तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता श्रेष्ठ स्थानीय तहको चुनावताका माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।

नगरमा प्रतिनिधित्व गर्ने वडाध्यक्षमध्ये सबैभन्दा बढी लोकप्रिय मत ल्याएर विजयी भएका श्रेष्ठले वडा र नगरको विकास निर्माणमा सधैं चासो राख्नुका साथै गल्ती कमीकमजोरी भएको ठाउँमा तुरुन्त आवाज उठाउने गरेको ईश्वरपुर नगरपालिकाका प्रमुख देवकोटाले बताए।

विकास परियोजना र योजनाको प्रगतिमा  अन्य वडाध्यक्षभन्दा बेग्लै छाप छाडेका उनलाई अबको स्थानीय निर्वाचनमा एमालेबाट मेयरको सम्भावित उम्मेद्वारका रुपमा हेरिएको थियो। 

वडाध्यक्ष श्रेष्ठले राजनीतिका साथै सामाजिक व्यक्तित्वसमेत बनाएका थिए। सबैसँग समान व्यवहार गर्ने उनी लोकप्रिय नेता थिए। उनको नेतृत्वमा ईश्वरपुर वडा नम्बर ३ मा विकास निर्माणका कामले गति लिएको देवकोटाको मूल्यांकन छ। 

‘सबैलाई हस्, हुन्छ म गरिहाल्छु भन्ने उहाँको बानी थियो, जसले जता बोलायो, ज्यान माया मारेर त्यतै जाने र जसले जे दियो त्यो खाने उहाँको आदतले यो घटना भयो,’ नगर प्रमुख देवकोटाले भने।

डोजर चालक तामाङ उक्त नगरपालिकाको बासिन्दा नरहेको पुष्टि भएको छ। उनी  केही महिनादेखि उक्त नगरपालिकाको विकास निर्माणका काममा डोजर चलाउँदै आएको बुझिएको छ।

ईश्वरपुर नगरपालिका माछा उत्पादनको पकेट क्षेत्र रहेको कारण पनि तामाङ त्यहाँ पोखरी खन्ने कामका लागि आएका थिए। पछि कामकै सिलसिलामा नगरपालिकामा बस्दै आएका प्रमुख देवकोटाले बताए।

चालक तामाङ हजारबिघा हरिपुर नगरपालिकाका–१ का बासिन्दा हुन्।

Logo