काठमाडौं उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार निषेध आदेश जारी गर्दै मंगलबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने बताएको हो। सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने र अनिवार्यरुपमा भौतिक दुरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ।
सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। त्यस्तै निजी सवारी साधनहरु कार, जीप, भ्यानमा बढीमा ४ जना, ट्याक्सीमा बढीमा ३ जना र मोटरसाइकल÷स्कुटर पनि जोर बिजोर प्रणालीमा सञ्चालन गर्न सकिने उनले बताए।
त्यसैगरी खाद्यान्न, दुध तथा दुग्धजन्य पद्धार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री विक्री वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, स्टेशनरी/पुस्तक पसलहरु साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतिय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्रीको पसल लगायतका पसल भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन गर्न सकिने छ।
अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।
विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म मात्रै सहभागी हुनेगरी आफ्नो घर वा बसेको स्थानमा गर्न सकिने र सो प्रयोजनका लागि २ वटा सवारी साधन सञ्चालन गर्न दिइनेछ । सभा, सम्मेलन र गोष्ठीहरु भने खुल्ला गरिएको छैन। यो आदेश असार २१ गतेसम्मका लागि लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।





























प्रतिक्रिया