भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको छ ।
हानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पुर्याउन ५० प्रतिशत अनुदानमा ट्रयाक्टर उपलब्ध गराएको हो । महानगरले सोमबार छ वटा ट्रयाक्टर र एउटा हाते ट्रयाक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गरे ।
महानगरमा परेका ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो । महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन्। कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर खटिएको बताइन् ।
महानगरमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो ।
कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पेशाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताइन् । कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उनको भनाइ थियो ।
प्रति ट्रयाक्टर १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगले आठ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताए ।





























प्रतिक्रिया