साथीको घरदेखि नफर्किएकी ‘सुजिता’को के होला मृत्युकाे कारण?

साथीको घरदेखि नफर्किएकी ‘सुजिता’को के होला मृत्युकाे कारण?


साँझ परिसकेको थियो। दिदी कवितालाई सुजिता भण्डारीले भनिन्, – ‘दिदी, भोलि (असार ११ गते) बिहानै साथीकोमा जान्छु।’

कविताले ‘हुन्छ’ भनिन्। उनीहरूको घर चितवनको राप्ती नगरपालिका–३ मा पर्छ। 
बुबा यज्ञ र आमा अम्बिका चाहिँ खेतमा जाने निश्चित थियो।

नभन्दै भोलिपल्ट बिहान करिब ५ बजेतिर बुबाआमा खेतमा गए। जतिबेला सुजिता उठेकी थिइनन्। 
कविताका अनुसार ६ बजेतिर हेर्दा चाहिँ ओछ्यानमा देखिनन्। उनलाई लाग्यो, ‘साथीकोमा जान्छु भन्थिन्, त्यतै गइन् होला।

कविता खाना बनाउन लागिन्। पाकेपछि फोन कल गरिन्। तर, लागेन।
मध्यान्ह १२ बजेतिर भने सुजिताको फोन आयो। कविताका अनुसार ‘म अपहरणमा परें, पूर्वतिर लाँदैछन्, सिमरा चोकमा एउटा भ्यान आएर रोक्यो, सौराहा कता पर्छ भनेर एक जनाले सोध्यो, मैले थाहा छैन भन्दा आँखामा के हाल्दियो र पट्टीले आँखा छोपेर लग्यो,’ भन्दै फोन गरिन्।

लगत्तै सुजिता र कविताको सम्पर्क टुट्यो। र, खेतदेखि आएपछि इलाका प्रहरी कार्यालय भण्डारालाई खोजीका लागि हारगुहार गरेको सुजिताको बुबा यज्ञ बताउँछन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता (डीएसपी) सूर्यबहादुर थापाका अनुसार सुजिताको परिवारले भण्डारामा हराएको भनेर थाहा दिएपछि तत्कालै सई नेतृत्वको टोली परिचालन भएको बताए। उनका अनुसार टोलीले सोधपुछ गर्यो। खोजी गर्यो तर, फेला पार्न सकेनन्।

यता सुजिताकी बुबा भने सुजिता अपहरणमा परेको भनिएको दिन प्रहरी नआएको बताउँछन्।
उल्टै पछि आएर ‘तपाईंको छोरी पोइला गइन् होला’ प्रहरीले भनेको बताए। १९ असारको दिउँसो २ बजेतिर भने च्याउ टिप्न जानेहरूले घरदेखि करिब ३ किलोमिटर दूरीमा रहेको ब्रम्हस्थानी जंगलमा मृत अवस्थामा सुजितालाई फेला पारे।

फेला पारेको खबरपछि प्रहरी घटनास्थल पुग्यो। प्रहरीले घटनास्थलबाट एउटा विषादीको बट्टा र सुजिताको झोला फेला पारेको छ।

अपहरणमा परेको खबर गरे पनि प्रहरीले खोजतलासमा ढिलाइ गरेको पनि मृतक सुजिताको परिवारको गुनासो छ। स्थानीय र सुजिताको परिवारले प्रहरीको भूमिकाप्रति गुनासो गर्दै सोमबार पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध पारे।

मंगलबार भने सुजिता भण्डारीको शवको परीक्षण त्रिवि शिक्षण अस्पतालमा भएको छ।
परीक्षणको रिपोर्ट आउन बाँकी छ। चितवन प्रहरी प्रवक्ता थापाले रिपोर्ट आएपछि मात्रै सुजिताको मृत्यु घटनाबारे भन्न सकिने केन्द्रविन्दुलाई बताए।

मध्यान्ह १२ बजेतिर भने सुजिताको फोन आयो। कविताका अनुसार ‘म अपहरणमा परें, पूर्वतिर लाँदैछन्, सिमरा चोकमा एउटा भ्यान आएर रोक्यो, सौराहा कता पर्छ भनेर एक जनाले सोध्यो, मैले थाहा छैन भन्दा आँखामा के हाल्दियो र पट्टीले आँखा छोपेर लग्यो,’ भन्दै फोन गरिन्।

हाल सुजिताको आत्महत्या हो कि भन्ने प्रहरीको आंशका छ। विषादीको बट्टा फेला पर्नु र फिरौती नमागिनुले प्रहरीले आत्महत्याको शंका गरेका हुन्।

घटना अनुसन्धान चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीको नेतृत्वमा हुँदैछ। केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख डिआईजी धिरजप्रताप सिंहले प्राविधिक, पारिवारीक र व्यवहारिक पाटोबाट अनुसन्धान गरिरहेको बताए।

अपहरणपछि फिरौती नमाग्न पनि सक्छः पूर्वडीआईजी हेमन्त मल्ल 

रानीवारी हत्याकाण्डको सफल अनुसन्धान गरेका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल अपहरणपछि फिरौती माग्छ नै भन्ने नहुने बताउँछन्। अपहरणमा संलग्न कतिपयले भने फिरौती नमाग्ने बताए। उनका अनुसार पैसाका लागि फिरौती माग्ने हुन्छ।

केटी मन परेपछि विहे गर्ने नियतले र बलात्कार गर्ने उद्देश्यले जबर्जस्ती उठाउनेदेखि पैसाका लागि पनि अपहरण हुने देखिएको उनको भनाइ छ। सुजिताको मृत्यु घटना पनि तीनमध्ये एउटा कारण हुनसक्ने पूर्वडीआईजी मल्लले केन्द्रविन्दुलाई बताए।

शव परीक्षण रिपोर्ट आएपछि मृत्युबारे खुल्छः चितवन प्रहरी प्रवक्ता

प्रारम्भिक अनुसन्धानको आधारमा अपहरणपछि हत्या भन्न मिल्ने देखिन्छ कि विष सेवनपछि?
पहिले अनुमान गर्न सकिँदैन। विष सेवनबाट मृत्यु भएको हुन पनि सक्छ, अरु कसैले विष सेवन गराएको पनि हुन सक्छ। फेरि, त्यहाँ फेला परेको विषादी नै हो भनेर यकिन गर्न सकिँदैन। परीक्षण भएपछि विष वा अन्य कुनै पदार्थ हो भन्ने त्यसबेलै यकिन होला। अनि, शव परीक्षण प्रतिवेदनपछि कुनै विष सेवन हो होइन वा अन्य के कारणले मृत्यु भयो भन्ने खुल्ला। अहिले नै यस्तो हो भनेर हामीले भन्ने अवस्था छैन।

अनि, घटनामा संलग्नको पहिचान भयो?
छैन। सोधपुछ चाहिँ गरिरहेका छौं। मृतक युवती हराएको भनिएको दिनदेखि नै हाम्रो संयन्त्र परिचालन गरेर संलग्नहरूको पहिचान गर्ने काम भइरहेको छ। 

अपराध अनुसन्धानको चितवन प्रहरी र सीआईबीले कुन कुन पाटोबाट अनुसन्धान गर्दै हो?
सीआईबीले छुट्टै र हामीले छुट्टै अनुसन्धान गर्ने भन्ने हुँदैन। उहाँहरूले हामीलाई अपराध अनुसन्धानमा सहयोग गर्दै हुनुहुन्छ। हामीले संयुक्त रूपमा गर्दैछौं।  

घटनाको कारण केही खुल्यो त?
अहिले नै खुलिसकेको छैन। प्रेम सम्बन्ध पनि कारक हुन सक्छ भन्ने कुरा आएको छ। प्रेम सम्बन्ध नै घटनाको कारण भन्न सकिने अवस्था छैन। 

इलाका प्रहरी कार्यालय भण्डारामा अपहरणको खबर भएपछि पनि प्रहरीले उद्दारमा चासो लिएन भन्ने मृतककी बुबाले भन्नुभयो। उद्दारमा किन प्रहरीबाट ढिला भयो?
उहाँहरूले हामीलाई हरायो भनेर फोनमार्फत् जानकारी गराउनुभयो। छोरीले फोनमा यस्तो यस्तो भनी भन्नुभयो। लगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी नायव निरीक्षक (सई) साहेब नेतृत्वको टोली सुजिताको घरमा जानुभो।

सोधपुछ गर्नुभयो। फोनमा के भनिन्? लगायतका सूचनाहरू लिने काम भएको छ। त्यही साँझ उहाँहरूले एउटा निवेदन भण्डारामा दिनु भएको छ। त्यसपछि तुरुन्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टोली खटिएर व्यापकरूपमा खोज अनुसन्धान गरिएको हो। उहाँ (सुजिता) लाई जीवितै फेला पार्न सकिन्छ कि भनेर अनुसन्धान गरेका थियौं। खोजीनिती गरेका थियौं। तर, फेला पार्न सकेनौं। १० दिनपछि चाहिँ मृत फेला पार्न सक्यौं। 

Logo