मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ उपत्यकामा शनिबार भारी वर्षा भएको छ। निरन्तरको वर्षाले काठमाडौँको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ। धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको हाे। भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा शनिबार काठमाडौँमा ६९.४ मिलीमिटर वर्षा भएको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएकाे छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको भएको छ।
आइतबार (आज) पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।































प्रतिक्रिया