विभेदमुक्त समाज निर्माणका लागि मन्दिरकाे मुख्य पुजारीमा दलित

विभेदमुक्त समाज निर्माणका लागि मन्दिरकाे मुख्य पुजारीमा दलित

केन्द्रबिन्दु
0
Shares

जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । 

ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । 

सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरेका हुन् ।

सो अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए “पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ ।”

 पण्डित पोखरेलले छुवाछूत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत अभियान सञ्चालन गरिरहेको अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको स्मरण गरे । 

क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले विभेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताए । जातमा कोही पनि ठूलो र सानो नहुने उनको भनाइ थियो । 

विश्वकर्मा समाज नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले समाजमा दलितमात्र नभई हरेक समुदायमा विभेद भएको भन्दै उक्त विभेदका विरुद्धमा युवाहरु अगाडि बढ्नुपर्ने उल्लेख गरे । 

सं २०७५ मा स्थापना भएको सनातन गोरक्ष राष्ट्र नेपाल विभेदमुक्त समाज निर्माणका लागि देशभर अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष रानाले बताए ।

Logo