हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु, इन्द्रेणीले लियाे १७ परिवारको आवास जिम्मा

हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु, इन्द्रेणीले लियाे १७ परिवारको आवास जिम्मा


हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु भएको छ। लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ।

हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए। मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको हो। रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले रु ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गरे।

कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा प्रभावित जनतालाई आफ्नै घरमा साररै छाड्ने प्रतिबद्धता जनाए। उनले हेल्भेटास नेपालबाट ४० र केयर नेपालबाट २० वटा निमार्णको सुरु भइसकेको जानकारी दिए। गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए। उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिए। मेलम्ची नगरपालिकामा पनि केयर नेपाललगायतले आवास निर्माण गर्ने बताइएको छ।

बाढीबाट प्रभावित स्थानीय तहलाई रु १२ लाख सहयोग

गत असार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तहहरु मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई नेपाल सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले रकम सहयोग गरेको छ।

मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई रु तीन/तीन लाख र हेलम्बु गाउँपालिकालाई रु छ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा शम्भुप्रसाद कट्टेलले जानकारी दिए। सो रकम मेलम्ची नपामा सोमबार नगरप्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरिएको थियो। पाँचपोखरी थाङपाल गापा अध्यक्ष टासी लामा काम विशेषले काठमाडौँमा रहेकामा उनलाई भेट गरी मङ्गलबार हस्तान्तरण गरिएको कट्टेलले बताए।

त्यस्तै सोमबार हेलम्बु गाउँपालिकालाई रु छ लाख रकम सहयोग गरिएको छ। सो रकम अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सोमबार हस्तान्तरण गरिएको हो। रकम प्रदान गर्दै कट्टेलले हेलम्बुको समस्यामा सहयोगका लागि लागि पर्दा शुभेच्छुकबाट स्वःस्फूर्तरूपमा सङ्कलित भएको रकमले सानै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सहयोग रकम नेपाल सरकारका पूर्वसचिव शर्माको अग्रसरतामा मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा कट्टेल र कर्मचारी ऋषिराम पौडेलको प्रत्यक्ष सहभागितामा मेलम्ची खानेपानीसँग जोडिएका व्यक्ति, संस्था, कम्पनी तथा आयोजनाका कर्मचारीबाट सङ्कलित भएको रकम हो।रासस

Logo